मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता


काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंक, जनकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका सम्बन्धित प्रतिनिधिहरूबीच प्रारम्भिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको बैंकले जनाएको छ।

सम्झौताअनुसार तीन वटै संस्थाका सम्बन्धित प्रतिनिधिले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ।

विस्तृत अध्ययनपछि मात्रै अन्तिम निर्णय

प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (Due Diligence), शेयर आदान–प्रदान अनुपात निर्धारण तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।

बैंकले प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुने स्पष्ट गरेको छ।

प्रस्तावित प्राप्ति सम्पन्न भएमा मुक्तिनाथ विकास बैंकको संस्थागत क्षमता, शाखा तथा सेवा सञ्जाल र व्यवसाय विस्तारमा थप प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

तर, हाल भएको सम्झौता प्रारम्भिक चरणको भएकाले नियामकीय स्वीकृति, ड्यु डिलिजेन्स तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि मात्रै प्राप्तिको अन्तिम स्वरूप तय हुनेछ।