सानिमा बैंकले असोज १२ गते वार्षिक साधारणसभा गर्दै, दश प्रतिशत नगद लाभांश प्रस्ताव


काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आगामी असोज १२ गते आफ्नो २२औँ वार्षिक साधारणसभा समेत आह्वान गरेको छ।

बैंकको साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने जनाएको छ।

साधारणसभाले प्रस्तावित लाभांशसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नेछ।

बैंकले साधारण शेयरधनीका लागि करसहित १० प्रतिशत नगद लाभांश, अर्थात् करिब १ अर्ब ३५ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, बैंकले अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसको रकम करिब ५ करोड २४ लाख रुपैयाँ रहेको छ।

सानिमा बैंकको चुक्ता पूँजी करिब १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने अग्राधिकार शेयरको पूँजी २ अर्ब रुपैयाँ रहेको छ।

लेखापरीक्षक नियुक्तिदेखि सञ्चालक निर्वाचनसम्म

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।

बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहबाट दुई जना सञ्चालक निर्वाचित गर्ने कार्यसूची समेत रहेको छ।

असोज १ गते बुक क्लोजर

लाभांश वितरण तथा साधारणसभामा सहभागी हुने प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोजर गर्ने जनाएको छ।