नदीलाई रोक्ने कि नदीसँगै बाँच्न सिक्ने? भोटेकोशी–त्रिशूली पुनर्स्थापनाको बहस


“भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती, विनाशकारी बाढी र अबको पुनर्स्थापनाबारे बहस तीव्र भइरहेका बेला एउटा आधारभूत प्रश्नमा फर्किन आवश्यक छ, के नदीलाई केवल नियन्त्रण गर्नुपर्ने प्राकृतिक जोखिमका रूपमा बुझ्ने, वा नदीसँगै मानव समाजको बदलिँदो सम्बन्धलाई पनि पुनर्स्थापनाको आधार बनाउने?”

हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले सडक, बस्ती, व्यापारिक प्रतिष्ठान, जलविद्युत् संरचना र स्थानीय अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याएको छ। त्रिशूली नदी किनारका बस्तीहरूको जोखिमबारे पनि बहस नयाँ होइन। विपद्पछि अहिले पुनर्निर्माण र पुनर्स्थापनाको चर्चा चलिरहेको छ।

तर पुनर्स्थापनाको बहस केवल “जोखिम क्षेत्रमा रहेका मानिसलाई हटाउने” विषयमा सीमित हुनु पर्याप्त नहुन सक्छ।

नदी कसरी बग्छ? नदीको धार कसरी परिवर्तन हुन्छ? बाढीको पानी कहाँ र कसरी फैलिन्छ? नदीले आफ्नो floodplain सँग कस्तो सम्बन्ध राख्छ? अनि मानिसले नदीसँगको यो परिवर्तनशील सम्बन्ध अनुसार आफ्नो बस्ती, जीविका र पूर्वाधार कसरी अनुकूलन गर्छ?

यी प्रश्नहरू पुनर्स्थापनाको केन्द्रमा आउन आवश्यक छ।

नदी किनारमा बस्ती बस्नु कुनै नयाँ कुरा होइन

मानव सभ्यताको विकासमा नदीहरूको भूमिका अत्यन्त पुरानो छ। नदीले पानी उपलब्ध गरायो, खेतीयोग्य जमिन दियो, यातायातको माध्यम बन्यो र माछा, वनस्पति तथा अन्य प्राकृतिक स्रोत र पारिस्थितिक सेवाहरू उपलब्ध गरायो।

त्यसैले नदी र मानव बस्तीबीचको सम्बन्धलाई केवल “अतिक्रमण” र “जोखिम” को भाषामा मात्र बुझ्न सकिँदैन।

नदीले मानिसलाई आकर्षित पनि गर्छ, जीवन धान्न सहयोग पनि गर्छ र कहिलेकाहीँ विनाश पनि निम्त्याउँछ।

यही जटिल सम्बन्धलाई बुझ्न socio-hydrological perspective उपयोगी हुन्छ। यस दृष्टिकोणबाट नदी र समाजबीचको सम्बन्ध स्थिर हुँदैन। नदीको बहाव, बाढी, sedimentation, channel shift र floodplain को परिवर्तनसँगै मानव समाजले पनि आफ्नो व्यवहार र बसोबासलाई परिवर्तन गर्दै आएको हुन्छ।

अर्थात्, नदी मात्र परिवर्तन हुँदैन, नदीसँगै समाज पनि परिवर्तन हुन्छ।

अनुसन्धानले देखाएको ‘चलायमान गाउँ’

यसमा भएको अनुसन्धान “Village mobility and local resource utilisation are adaptation strategies in Nepal’s Koshi floodplain” ले नेपालको कोशी floodplain मा बसोबास गर्ने समुदायका अनुकूलन अभ्यासलाई अध्ययन गरेको थियो।

उक्त peer-reviewed अनुसन्धानमा गाउँ तथा बस्तीले नदीको बदलिँदो धारसँग कसरी आफूलाई अनुकूलन गर्दै आएका छन् भन्ने विषयलाई मिश्रित अनुसन्धान विधिमार्फत अध्ययन गरिएको थियो। अनुसन्धानले नदीको channel shift अनुसार गाउँ स्थानान्तरण गर्नु र स्थानीय स्रोत तथा सामग्रीको प्रयोग गर्नु समुदायका महत्वपूर्ण अनुकूलन रणनीति रहेको देखाएको छ।

पूरा अनुसन्धानपत्र पढ्न यहाँ क्लिक गर्नुहोस् 

परम्परागत floodplain मा स्थानीय समुदायले स्थायी रूपमा एउटै ठाउँमा बस्ने अवधारणाभन्दा फरक अभ्यास विकास गरेका थिए। स्थानीय सामग्रीबाट बनेका घरहरू आवश्यक पर्दा भत्काउन, मर्मत गर्न र अर्को स्थानमा सार्न सकिने प्रकृतिका थिए।

बस्ती कहिले र कहाँ सार्ने भन्ने निर्णय पनि केवल व्यक्तिगत तहमा हुँदैनथ्यो। स्थानीय सामाजिक संस्था तथा समुदायका अनुभवी व्यक्तिहरूले नदीको अवस्था, जोखिम र स्थानीय अनुभवका आधारमा निर्णयमा भूमिका खेल्थे।

अनुसन्धानको मुख्य सन्देश स्पष्ट थियो—नदीसँग जुधेर मात्र होइन, नदीको परिवर्तन बुझेर पनि समाजले अनुकूलन गर्न सक्छ।

नदी बदलिँदा मानिस पनि सरेका थिए

परम्परागत floodplain बस्तीहरूको एउटा महत्वपूर्ण विशेषता उनीहरूको mobility थियो।

नदीले धार परिवर्तन गर्दा मानिसले पनि बस्तीको स्थान परिवर्तन गर्थे। नदीले जमिन काट्दा, नयाँ ठाउँमा sediment थुपार्दा वा बाढीको जोखिम बढ्दा समुदायले आफ्नो बसोबासलाई क्रमशः समायोजन गर्थ्यो।

आजको भाषामा यसलाई planned relocation वा managed retreat जस्ता अवधारणासँग तुलना गर्न सकिए पनि स्थानीय समुदायका लागि यो कुनै नयाँ नीति वा परियोजना थिएन। यो उनीहरूको जीवनशैली र अनुकूलन प्रणाली थियो।

स्थानीय सामग्री, स्थानीय ज्ञान, समुदायको सामूहिक निर्णय र नदीको व्यवहारबारे पुस्तौंदेखिको अनुभवले यस्तो अनुकूलन सम्भव बनाएको थियो।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—के यही मोडेल भोटेकोशीमा जस्ताको तस्तै लागू गर्न सकिन्छ?

सायद सकिँदैन।

भोटेकोशीको अवस्था किन फरक छ?

भोटेकोशी corridor को सामाजिक, आर्थिक र भौतिक संरचना परम्परागत floodplain गाउँभन्दा धेरै फरक छ। यहाँका धेरै बस्ती क्रमशः अर्ध–शहरीकरण हुँदै गएका छन्। पक्की घर बनेका छन्।

सडकसँग जोडिएका व्यापारिक केन्द्रहरू विकास भएका छन्। अन्तर्राष्ट्रिय व्यापार र सीमावर्ती अर्थतन्त्रसँग स्थानीय व्यवसाय जोडिएको छ।

जलविद्युत् आयोजना, राजमार्ग, पुल, होटल, गोदाम, व्यापारिक प्रतिष्ठान र अन्य महँगा पूर्वाधारले नदी किनारलाई केवल बसोबासको ठाउँ मात्र होइन, महत्वपूर्ण आर्थिक corridor बनाएका छन्।

त्यसैले बाढीपछि पुनर्स्थापनालाई केवल “मानिसलाई जोखिम क्षेत्रबाट हटाऊ” भन्ने एउटा सरल समाधानका रूपमा हेर्न सकिँदैन।

किनभने मानिससँगै घर मात्र हुँदैन। उनीहरूको व्यवसाय हुन्छ, रोजगारी हुन्छ, सामाजिक सम्बन्ध हुन्छ, बजार हुन्छ र पूर्वाधारसँग जोडिएको सम्पूर्ण आर्थिक प्रणाली हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा घर सार्नु र सम्पूर्ण आर्थिक प्रणाली सार्नु एउटै कुरा होइन।

पुनर्स्थापनाअघि नदीलाई बुझ्नुपर्छ

भोटेकोशी र त्रिशूली क्षेत्रमा अबको पुनर्स्थापनाको सबैभन्दा महत्वपूर्ण आधार river dynamics को गहिरो अध्ययन हुनुपर्छ।

हामीले बुझ्नुपर्ने प्रश्नहरू धेरै छन्—

  • नदीको channel भविष्यमा कुन दिशातर्फ सर्न सक्छ?
  • बाढीको पानी कुन क्षेत्रमा फैलिन सक्छ?
  • विगतका ठूला बाढीले नदीको भू–आकृतिमा कस्तो परिवर्तन गरेका छन्?
  • sediment र debris ले नदीको बहावलाई कसरी प्रभावित गर्छ?
  • floodplain को प्राकृतिक फैलावट क्षेत्र कहाँसम्म छ?
  • सडक, पुल र जलविद्युत् संरचनाले नदीको प्राकृतिक गतिशीलतामा कस्तो प्रभाव पारेका छन्?

नदीसँग channel, riverbank, floodplain, sediment corridor र बाढीको फैलावट क्षेत्र सबै जोडिएका हुन्छन्।

नदीलाई साँघुरो पारेर नियन्त्रण गर्न खोज्दा वा floodplain लाई पूर्ण रूपमा स्थायी संरचनाले भरिँदा जोखिम अर्को ठाउँमा सर्न पनि सक्छ।

नेपालका अन्य नदी प्रणालीमा भएका अध्ययनहरूले पनि नदीको channel shifting, erosion र deposition निरन्तर हुने प्रक्रिया रहेको देखाएका छन्। त्यसैले नदीको भू–आकृतिक परिवर्तनलाई बेवास्ता गरेर गरिने बस्ती तथा पूर्वाधार योजना दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्छ।

‘Build Back Better’ मात्र पर्याप्त छ?

विपद्पछि प्रायः Build Back Better को नारा सुनिन्छ।

तर प्रश्न उठ्छ—के हामी पहिले जहाँ थियो, त्यहीँ अझ बलियो संरचना बनाएर मात्र राम्रोसँग पुनर्निर्माण गर्न सक्छौं?

यदि नदीको धार, floodplain र जोखिमको स्वरूप नै परिवर्तन भएको छ भने पुरानै स्थानमा अझ बलियो घर बनाउनु मात्र समाधान नहुन सक्छ।

पुनर्निर्माणको अर्थ केवल “पहिलेको घरभन्दा बलियो घर” हुनुहुँदैन।

पुनर्निर्माणको अर्थ हुनुपर्छ भविष्यको नदी र भविष्यको जोखिमलाई बुझेर नयाँ बसोबास र पूर्वाधार प्रणाली निर्माण गर्नु।

यसका लागि भोटेकोशी र त्रिशूलीमा पुनर्स्थापना योजना बनाउँदा hydrology, geomorphology, climate science, engineering, ecology र सामाजिक विज्ञानलाई एउटै फ्रेमवर्कमा ल्याउन आवश्यक छ।

मानिसलाई हटाउने होइन, जोखिमसँगको सम्बन्ध बदल्ने

जोखिमपूर्ण क्षेत्रबाट स्थानान्तरण आवश्यक पर्न सक्छ। कतिपय स्थानमा मानिस र बस्तीलाई सुरक्षित क्षेत्रमा सार्नुको विकल्प नहुन सक्छ। तर सबै ठाउँका लागि एउटै समाधान लागू गर्न सकिँदैन। कतै पूर्ण relocation आवश्यक हुन सक्छ। कतै seasonal adaptation पर्याप्त हुन सक्छ।

कतै व्यवसायिक संरचना सार्नुपर्ने हुनसक्छ। कतै नदीलाई फैलिन आवश्यक ठाउँ छोड्नुपर्ने हुन सक्छ। कतै critical infrastructure लाई पुनः डिजाइन गर्नुपर्ने हुन सक्छ।

त्यसैले पुनर्स्थापनाको नीति स्थानविशेषको नदी, भूगोल, अर्थतन्त्र र समाज बुझेर बनाउनुपर्छ।

अब नेपाललाई धेरै socio-hydrological अनुसन्धान चाहिन्छ

नेपाल नदीहरूको देश हो। हिमालबाट तराईसम्म बग्ने नदीहरूले भूगोल मात्र होइन, समाज र अर्थतन्त्रलाई पनि निरन्तर आकार दिइरहेका छन्।

जलविद्युत् आयोजना, सडक, शहर विस्तार, नदी नियन्त्रण संरचना, बालुवा–ढुंगा उत्खनन, खेती र बस्ती विस्तारले पनि नदी प्रणालीलाई परिवर्तन गरिरहेका छन्।

अर्कोतर्फ जलवायु परिवर्तन, अत्यधिक वर्षा, हिमतालजन्य जोखिम, पहिरो र cascading disasters ले नदीसम्बन्धी जोखिमलाई अझ जटिल बनाइरहेका छन्।

त्यसैले अबको अनुसन्धान केवल “बाढी कति ठूलो आयो?” भन्ने प्रश्नमा सीमित हुनु हुँदैन।

हामीले सोध्नुपर्छ “नदी र समाज एकअर्कालाई कसरी परिवर्तन गरिरहेका छन्?” भोटेकोशी र त्रिशूलीको वर्तमान विपद्ले यही प्रश्नलाई अझ गम्भीर बनाएको छ।

निष्कर्ष: नदीसँगको सम्बन्ध पुनः सोच्ने समय

भोटेकोशी र त्रिशूलीको पुनर्स्थापना केवल भत्किएका घर फेरि बनाउने परियोजना हुनु हुँदैन। यो नदीसँग हाम्रो सम्बन्धलाई पुनः सोच्ने अवसर पनि हो।

परम्परागत floodplain समुदायहरूले नदीको परिवर्तनसँगै आफूलाई परिवर्तन गर्ने क्षमता विकास गरेका थिए। तर आधुनिक, अर्ध–शहरी र पूर्वाधार–निर्भर नदी corridor मा त्यो क्षमता कमजोर भएको छ। मानिस, घर, सडक र उद्योग क्रमशः स्थायी हुँदै गएका छन्, तर नदी भने स्थायी भएको छैन।

यही नै आजको सबैभन्दा ठूलो विरोधाभास हो।हामीले नदी किनारमा स्थायी समाज निर्माण गरिरहेका छौं, तर नदी आफैं परिवर्तनशील छ।

त्यसैले अबको पुनर्स्थापनाको बहसमा केवल “कहाँ घर बनाउने?” भन्ने प्रश्न पर्याप्त छैन।

प्रश्न अझ गहिरो हुनुपर्छ—नदीलाई कति ठाउँ चाहिन्छ? नदी भविष्यमा कसरी बदलिन सक्छ?
मानिसले त्यो परिवर्तनसँग कसरी सुरक्षित र सम्मानजनक ढंगले बाँच्न सक्छन्?

भोटेकोशी र त्रिशूलीको पुनर्स्थापना सफल हुनेछ कि फेरि अर्को विपद्को प्रतीक्षा मात्र गर्नेछ भन्ने कुरा, सायद यिनै प्रश्नको जवाफमा निर्भर हुनेछ।