प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ५३ करोड रुपैयाँ, नेपाली कर्मचारीहरूको पहलपछि सम्भव भएको सहयोग
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी NVIDIA का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन्।
उक्त रकम नेपाली मुद्रामा करिब १ अर्ब ५३ करोड रुपैयाँ बराबर हुने बताइएको छ। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा उपयोग गरिनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोगप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्।
एनभिडियाका नेपाली कर्मचारीहरूको पहल र समन्वयपछि यो ठूलो सहयोग सम्भव भएको बताइएको छ। कम्पनीका नेपाली अधिकारी अशोक पाण्डेको नेतृत्वमा आरती न्यौपाने तथा अन्य नेपाली सहकर्मीहरूले बाढीपीडितका लागि सहयोग उपलब्ध गराउन पहल गरेका थिए।
अर्थमन्त्री वाग्लेसँग आवश्यक समन्वय र सहजीकरण भएपछि कम्पनीलाई सहयोग रकम नेपाल सरकारको राहत अभियानमार्फत प्रभावकारी रूपमा उपयोग हुने विश्वास दिलाउन सहयोग पुगेको बताइएको छ।
एनभिडिया विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई), ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र एक्सेलेरेटेड कम्प्युटिङ क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित छ।

लैनचौर–कपुरधारा निवासी आरती न्यौपाने वरिष्ठ पत्रकार तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक स्वर्गीय रामचन्द्र न्यौपानेकी कान्छी सुपुत्री हुन्। उनको पहल तथा नेपाली सहकर्मीहरूको अनुरोधपछि एनभिडियाबाट नेपालका बाढीपीडितका लागि यति ठूलो सहयोग जुट्न सफल भएको बताइएको छ।
यसअघि पनि विपद्का बेला राहत संकलन तथा सहयोग अभियानमा सक्रिय भूमिका खेलेका नेपाली समुदाय र विभिन्न व्यक्तिको पहलले यसपटक अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रबाट नेपालमा उल्लेखनीय मानवीय सहयोग भित्रिएको छ।
१० मिलियन अमेरिकी डलरको यो सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएका उल्लेखनीय अन्तर्राष्ट्रिय निजी क्षेत्रका योगदानमध्ये एक भएको बताइएको छ।