काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले हाल कायम रहेको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निफ्राले करसहित ५.२६३२ प्रतिशत नगद लाभांश, अर्थात् कुल १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।
हाल निफ्राको दोस्रो बजारमा अन्तिम कारोबार मूल्य (एलटीपी) प्रति शेयर २३९ रुपैयाँ रहेको छ।
निफ्राले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गरिरहेको अवस्थामा कम्पनीको लाभांश प्रस्तावलाई लगानीकर्ताले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।