चालु आवको पहिलो त्रैमाससम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुमध्ये शिवम सिमेन्ट्समात्र नाफामा देखिएको छ।
३ महिनामा शिवम् सिमेन्ट्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यो कम्पनी घाटामा थियो।
यो अवधीमा सोनापुर, घोराही र सर्वोत्तम सिमेन्टले भने ६० करोड ९० लाख घाटा व्यहोरेका छन् । चुक्ता पुँजी १७ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ बराबर रहेका यी तीन कम्पनीको जगेडा कोष तथा सेयर प्रिमियममा १३ अर्ब ३१ करोड रुपैयाँ जम्मा छ ।
कम्पनीहरुले ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्रीबाट आम्दानी गरेका छन् ।
व्यापारमा गिरावट आउँदा यो तिन महिने अवधिमा घोराही सिमेन्ट ५१ करोड ३७ लाख, सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख र सोनापुर मिनरल ८ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्रस्थानमा रहेको शिवम प्रतिसेयर आम्दानीमा पनि अगाडी रहेको छ ।
चालु आवको तीन महिनामा शिवम सिमेन्टकोे प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ।
अन्य कम्पनीहरुको प्रतिसेयर आम्दानी भने ऋणात्मक अवस्थामा रहेको छ । प्रतिसेयर नेटवर्थमा भने घोराही सिमेन्ट अगाडी छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९६.६३ रुपैयाँ रहेको छ ।