पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो र व्यक्तिगत विवरण अनुमति तथा संवेदनशीलताबिना सार्वजनिक नगर्न CZOP Nepal को आग्रह


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाउन र प्रभावित क्षेत्रमा राहतको समान पहुँच सुनिश्चित गर्न बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (czop nepal) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो र व्यक्तिगत विवरण अनुमति तथा संवेदनशीलताबिना सार्वजनिक नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत गराइएको छ । यस्तो सामग्रीले पीडितमा थप मानसिक तनाव सिर्जना गर्नुका साथै गोपनीयता र बाल संरक्षणको अधिकार प्रभावित गर्न सक्ने czopले उल्लेख गरेको छ ।

बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी रहेको भन्दै सिजपले सरकारी तथा सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र मानवीय संस्थालाई खोजी, उद्धार तथा राहतमा सक्रियता बढाउन भनेको हो ।

बाढी प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण र शिक्षालाई प्राथमिकता दिनुपर्ने तथा परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको पहिचान गरी परिवारसँग पुनर्मिलन र आवश्यक मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्ने czopले जनाएको छ । विपद्का बेला बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै प्रभावित क्षेत्रमा उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने czopले ध्यानाकर्षण गराएको छ।

“पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो र व्यक्तिगत विवरण अनुमति तथा संवेदनशीलताबिना सार्वजनिक नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत गराइएको छ । यस्तो सामग्रीले पीडितमा थप मानसिक तनाव सिर्जना गर्नुका साथै गोपनीयता र बाल संरक्षणको अधिकार प्रभावित गर्न सक्ने czop nepalले उल्लेख गरेको छ”

बेपत्ता तथा बेवारिसे शवबाट फैलन सक्ने दुर्गन्ध र सम्भावित महामारीबाट बच्न तथा बालबालिकालाई त्यस्ता स्थानमा जाँदा पर्न सक्ने मानसिक असरप्रति समेत सचेत रहनुपर्ने czop nepal को भनाइ छ ।

images

czop nepalले राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकाको अवस्थालाई विशेष प्राथमिकतामा राखी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन दिन र विपद्सम्बन्धी सूचना आधिकारिक स्रोतबाट मात्र लिन र अपुष्ट सूचना तथा अफवाह नफैलाउन आग्रह गरिएको छ ।

czop nepalका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा भाद्र १८ गते जारी विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो।