भोटेकोशी विपद्पछि IPPAN को ऐक्यबद्धता: प्रधानमन्त्री राहत कोषमा १३ करोड सहयोग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान अभियानमा दर्जनौँ ऊर्जा उद्यमी र टोली सहभागी
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि निजी ऊर्जा क्षेत्र पनि राहत तथा पुनर्निर्माण अभियानमा सक्रिय भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) र यसका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा १३ करोड रुपैयाँ योगदान गरेका छन्।
उक्त रकम सम्बन्धित लाइन मन्त्रालय तथा माननीय मन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइएको IPPANले जनाएको छ।
मानवीय क्षति र महत्वपूर्ण पूर्वाधारमा पुगेको ठूलो क्षतिको तुलनामा आर्थिक सहयोग पर्याप्त नभए पनि संकटको घडीमा राष्ट्र र प्रभावित नागरिकप्रतिको ऐक्यबद्धता तथा पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धताको प्रतीकका रूपमा सहयोग गरिएको संस्थाले जनाएको छ।
IPPANले विपद्को यस कठिन समयमा निजी ऊर्जा क्षेत्र एकजुट भएर राष्ट्रको साथमा उभिएको सन्देश दिएको छ।

कसले कति सहयोग गरे ?
राहत रकम संकलन अभियानमा ऊर्जा क्षेत्रका विभिन्न उद्यमी तथा टोलीले योगदान गरेका छन्। प्राप्त विवरणअनुसार प्रमुख सहयोगकर्ताहरू यसप्रकार छन्—
मोहन विक्रम कार्की तथा टोली — रु. १ करोड ६५ लाख
हिम पाठक तथा टोली — रु. १ करोड ५१ लाख
पुष्प ज्योति ढुंगाना तथा टोली — रु. १ करोड ७ लाख
बाटु लामिछाने तथा टोली — रु. १ करोड २ लाख
ईशा श्रेष्ठ तथा टोली — रु. ६५ लाख
उत्तरकुमार श्रेष्ठ तथा टोली — रु. ५१ लाख
उत्तम भ्लोन लामा तथा टोली — रु. ५१ लाख
अरुण केसी तथा माउन्टेन हाइड्रो — रु. ५१ लाख
सुशन कर्माचार्य तथा टोली — रु. ५० लाख
नरेन्द्र बल्लभ पन्त तथा टोली — रु. ५० लाख
सञ्जीव न्यौपाने तथा टोली — रु. ३५ लाख
टीएन आचार्य तथा टोली — रु. २६ लाख
सन्तोषराज नेपाल तथा टोली — रु. २५ लाख
मोहन डाँगी तथा टोली — रु. २५ लाख
दिनेश गुरुङ तथा टोली — रु. २५ लाख
अनुप आचार्य तथा टोली — रु. २५ लाख
किशोर सुवेदी तथा टोली — रु. २५ लाख
रघुनाथ पुरी तथा टोली — रु. २५ लाख
कृष्ण आचार्य तथा टोली — रु. २१ लाख
उमेश श्रेष्ठ तथा टोली — रु. २० लाख
कदम केसी तथा टोली — रु. २० लाख
अभिज्ञ मल्ल तथा टोली — रु. २० लाख
भूषण गुरागाईं तथा टोली — रु. २० लाख
यसका अतिरिक्त गोपाल न्यौपाने, बलराम खतीवडा, विक्रम बिष्ट, सोमनाथ कँडेल, प्रकाश दुलाल, कृष्ण घिमिरे, आत्माराम घिमिरे, केशवबहादुर रायमाझी र अर्जुन गौतमलगायत अन्य ऊर्जा उद्यमी तथा सहयोगकर्ताहरूले पनि राहत अभियानमा योगदान गरेका छन्।

‘Together We Can’ को सन्देश
IPPANले ‘एकजुट भएर हामी सक्छौँ’ भन्ने सन्देशसहित विपद्को समयमा राष्ट्रलाई पुनःनिर्माणको यात्रामा सहयोग गर्न निजी ऊर्जा क्षेत्र प्रतिबद्ध रहेको जनाएको छ।
भोटेकोशी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिपछि राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी प्रयाससँगै निजी क्षेत्रको सहयोग बढिरहेको छ। IPPAN र यसका सदस्यहरूको १३ करोड रुपैयाँको योगदानलाई ऊर्जा क्षेत्रबाट आएको उल्लेखनीय सामूहिक सहयोगका रूपमा हेरिएको छ।
विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित समुदायको पुनःस्थापनामा दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि राष्ट्रको आवश्यकताअनुसार सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।