दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख रुपैयाँ सहयोग


भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग

काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले उक्त रकम उपलब्ध गराएको हो।

सहयोग रकमको चेक नागरिक लगानी कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ। विपद् बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटिरहेको छ।

नागरिक लगानी कोषले पनि विपद्को समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत तथा पुनःस्थापना अभियानमा सहयोग गरेको जनाएको छ।