“नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा संकलित राहत सामग्री नेपाल प्रहरीमार्फत प्रभावित क्षेत्रमा पठाइँदै”
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल चेम्बर अफ कमर्सले संकलन गरेको राहत सामग्री सरकारलाई हस्तान्तरण गरेको छ।
भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले चेम्बरले संकलन गरेको सामग्री मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपकुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। चेम्बरका अनुसार संकलित सामग्री जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ।
राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, विभिन्न प्रकारका बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा, मास्क, टिस्यु, दाललगायत दैनिक उपभोग्य सामग्री रहेका छन्।
चेम्बरले हस्तान्तरण गरेको राहत सामग्रीमा चिउरा ३४ बोरा, थप विभिन्न परिमाणमा चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकैको बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयोडिन नुन टिस्यु ७ कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन तथा पञ्जा र मास्क ३ कार्टुनलगायत सामग्री छन्।
त्यस्तै, अन्य टिस्यु २ बोरा, २५० थान सामग्री तथा ‘…अक्स फुड’ नाम उल्लेख भएको टिस्यु १ बोरा र दाल १ सानो बोरा अर्थात् १० किलोसमेत राहत सामग्रीमा समावेश रहेको चेम्बरले जनाएको छ।
३२५ संस्थाको सहकार्यमा थप राहत
राहत अभियानमा नेपाल चेम्बर अफ कमर्ससँगै लायन्स डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले पनि सहकार्य गरेको छ।
संयुक्त पहलमा बाढी प्रभावित नागरिकका लागि खानेपानी, चाउचाउ, बिस्कुट, टुथपेस्ट, टुथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा, ग्लोभ्सलगायतका सामग्री उपलब्ध गराइएको छ।
राहत हस्तान्तरण कार्यक्रममा चेम्बर कार्यसमिति सदस्यहरू कृष्णमान श्रेष्ठ, रोजिन भोयद्यो, रुजुल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
विपद्पछि निजी क्षेत्रको सक्रियता
भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा स्थानीय बस्तीमा समेत ठूलो क्षति पुर्याएको छ।
विपद्पछि सरकारी निकायसँगै निजी क्षेत्रका संघसंस्था पनि राहत, उद्धार तथा सुरक्षा व्यवस्थापनमा सक्रिय भएका छन्। नेपाल चेम्बर अफ कमर्सले राहत सामग्री संकलन र वितरणसँगै उद्धार तथा सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको जनाएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित परिवारका लागि तत्काल आवश्यक खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री र स्वास्थ्यसम्बन्धी सामग्रीको आवश्यकता बढिरहेका बेला निजी क्षेत्रबाट भएको राहत सहयोगले प्रभावित परिवारलाई तत्कालीन आवश्यकता पूरा गर्न केही सहज हुने अपेक्षा गरिएको छ।
चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउँदै प्रभावित नागरिकसम्म राहत पुर्याउने कार्यलाई निरन्तरता दिने जनाएको छ।