काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा विपद्पछिको पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले व्यवसायीहरूबाट उक्त रकम संकलन गरिएको संघले जनाएको छ।
संघले यस मानवीय अभियानमा आर्थिक तथा अन्य सहयोगमार्फत योगदान पुर्याउने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी, संघसंस्था तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व मात्र नभई मानवीय कर्तव्यसमेत भएकाले राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने संघले जनाएको छ।