मुक्ति अधिकारी। सानो छँदा स्कुलमा पढेको एउटा बहस आज पनि धेरैको स्मृतिमा ताजै होला—‘धन ठूलो कि विद्या ?’
विद्यालयहरूमा हुने वादविवाद प्रतियोगिताको यो अत्यन्तै लोकप्रिय विषय थियो। विद्यार्थीहरू दुई पक्षमा बाँडिन्थे। कोही धन ठूलो भएको पक्षमा तर्क गर्थे, कोही विद्याको पक्षमा। म भने प्रायः विद्याको पक्ष रोज्थेँ।
विद्याको महत्त्वका पक्षमा तर्क गर्दै मञ्चमा उभिन्थेँ। ज्ञान, चेतना, संस्कार र विवेक नै मानिसको वास्तविक सम्पत्ति हो भन्ने कुरा जोडदार रूपमा राख्थेँ। कहिलेकाहीँ त्यही तर्कले प्रतियोगिता पनि जितिन्थ्यो। पुरस्कारस्वरूप कापी–कलम पाइन्थ्यो, निधारमा अबिर लगाइन्थ्यो, गलामा माला पहिराइन्थ्यो अनि घर फर्किँदा लाग्थ्यो—आज संसार नै जितियो।
त्यतिबेला लाग्थ्यो, धन त क्षणिक कुरा हो, विद्या नै सबैभन्दा ठूलो शक्ति हो।
तर समय सधैँ एउटै पाठमा रोकिँदैन। उमेर बढ्दै जाँदा, जीवनका अनुभव थपिँदै जाँदा र समाजलाई नजिकबाट नियाल्दै जाँदा त्यो बाल्यकालको बहसको उत्तर पनि विस्तारै बदलिँदो रहेछ।