काठमाडौं । पेसागत महासङ्घ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आफ्ना प्रदेश तथा जिल्ला समिति र सम्बद्ध प्रतिष्ठानहरूलाई आह्वान गरेको छ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले भदौ १२ गते जारी गरेको अपिलमा भोटेकोशीमा आएको प्राकृतिक प्रकोपका कारण रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ।
महासङ्घले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सम्बन्धित निकाय र स्थानीय स्तरबाट भइरहेको प्रयासमा आफ्नो ऐक्यबद्धता जनाएको छ।
विपद्बाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि क्षति अझै बढ्न सक्ने भन्दै महासङ्घले संकटको समयमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने जनाएको छ। प्रभावित नागरिकको तत्काल उद्धार, उपचार तथा राहतसँगै खोज तथा पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ।
महासङ्घले आफ्ना प्रदेश समिति, जिल्ला समिति तथा प्रतिष्ठानहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत तथा उद्धार कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

त्यस्तै, सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई महासङ्घले अपिलसँगै सार्वजनिक गरेको क्यूआर कोडमार्फत आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। संकलित सहयोग विपद् प्रभावितको राहत, उद्धार, उपचार तथा पुनर्स्थापनामा परिचालन गर्ने महासङ्घले जनाएको छ।
प्राकृतिक विपद्को समयमा राज्यका निकायसँगै सामाजिक तथा पेसागत संघसंस्था र नागरिक समाजको सहकार्य आवश्यक रहेको महासङ्घले जनाएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा समेत सामूहिक सहयोग आवश्यक रहेको महासङ्घको जोड छ।