रसुवा बाढीपहिरोमा UNNCC को दुःख व्यक्त, उद्धार र राहतमा एकजुट हुन चर्चहरूलाई आह्वान


काठमाडौं । संयुक्त राष्ट्र नेपाली चर्च परिषद् (UNNCC) ले रसुवा जिल्लाको स्याफ्रुबेंसी, तिरु तथा त्रिशूली नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

परिषद्ले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित

सरकारी निकाय तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ।

UNNCC ले राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाली चर्चहरू ‘ख्रीष्टको एक शरीर’का रूपमा एकजुट भएर प्रभावित समुदायको सहयोगमा जुट्नुपर्नेमा जोड दिएको छ।

परिषद्ले नेपालभरका मण्डली, मण्डलीका अगुवा, पास्टर, विश्वासी तथा इसाई संघ–संस्थाहरूलाई प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत, स्वास्थ्य सहयोग तथा पुनर्स्थापनाका कार्यमा एकताबद्ध भएर सहभागी हुन आह्वान गरेको छ।

विशेषगरी प्रभावित परिवार, बेपत्ता तथा घाइतेहरूको शीघ्र उद्धार, स्वास्थ्यलाभ र सुरक्षित जीवनका लागि देशभरका मण्डलीहरूलाई विशेष प्रार्थना गर्न आग्रह गरिएको छ। प्रभावित समुदायमा शान्ति, धैर्य र आशा कायम रहोस् तथा उद्धार र राहत कार्य सफल होस् भनेर निरन्तर प्रार्थना गर्नसमेत परिषद्ले अपिल गरेको छ।

त्यस्तै, इसाई समुदायबाट सञ्चालन हुने राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन सम्बन्धित मण्डली तथा संघ–संस्थाबीच आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। आवश्यकताअनुसार संयुक्त राहत तथा उद्धार कार्यदल गठन गरी राज्यका सम्बन्धित निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा तत्काल सहयोग पुर्‍याउन परिषद्ले अनुरोध गरेको छ।

परिषद्ले विपद्को यस दुःखद् घडीमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै पीडितहरूको दुःखमा साथ दिन, प्रभावित परिवारलाई आशा र हौसला प्रदान गर्न तथा ख्रीष्टको प्रेम, करुणा र सेवाभावलाई व्यवहारमा उतार्न आह्वान गरेको छ।

UNNCC का केन्द्रीय संयोजक भव घलेकार्यक्रम संयोजक विदुर अधिकारीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।