काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत, उद्धार र पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ।
बाढीबाट प्रभावित नागरिकसम्म तत्काल राहत पुर्याउने उद्देश्यले संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ परिचालन भएको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालको आवश्यकता पहिचान, राहत वितरण, उद्धार तथा स्वास्थ्य सेवाका लागि सहयोग गर्ने एनआरएनएले जनाएको छ।
राहतभन्दा अगाडि पुग्दै एनआरएनएको टोली
एनआरएनएले विपद्पछि विदेशबाट सहयोग घोषणा गरेर मात्र सीमित नरही स्थलमै पुगेर आवश्यकता पहिचान गर्ने रणनीति अघि सारेको छ। स्थानीय प्रशासन, सरकारका सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरी वास्तविक प्रभावित परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरिने संघको भनाइ छ।
संघका अध्यक्ष डा. हेमराज शर्माले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
“यो विपद्को घडीमा विश्वभर रहेका गैरआवासीय नेपाली एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन आवश्यक छ,” शर्माले भने, “एनआरएनए तत्काल उद्धार र राहतदेखि स्वास्थ्य सेवा तथा पुनःस्थापनासम्मका काममा सक्रिय रूपमा अघि बढ्छ।”
५ करोडको सहयोग, प्राथमिकता उद्धार र जीवनरक्षा
एनआरएनएको राहत अभियान तत्कालका लागि खाद्यान्न, औषधि, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तु प्रभावित क्षेत्रमा पुर्याउनेमा केन्द्रित हुनेछ। तर संघले राहतलाई तत्कालीन वितरणमा मात्र सीमित नगरी बाढी तथा पहिरोबाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनालाई समेत अभियानमा समेट्ने जनाएको छ।
राहत समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले स्थलगत अवस्था हेरेर राहतको प्राथमिकता निर्धारण गरिने बताए।
“स्थानीय प्रशासन, सरकारका सम्बन्धित निकाय र प्रभावित क्षेत्रका स्थानीयसँग समन्वय गरेर आवश्यकताका आधारमा राहत परिचालन गर्छौं,” उनले भने।
फिल्डमै खटिए गुरुङ
एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उपसंयोजक प्रविन गुरुङ राहत वितरणसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिएका छन्। प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाको जानकारी लिने र त्यसका आधारमा थप राहत परिचालन गर्ने उनको भनाइ छ।
“विपद्को यो पीडादायी अवस्थामा विश्वभर रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ,” गुरुङले भने, “एनआरएनएको टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरणसँगै उद्धार कार्यमा पनि सक्रिय हुनेछ।”
विश्वभरका नेपालीलाई सहयोगको आह्वान
एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि विश्वभर रहेका नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन्। उनी स्वयं पनि प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सहभागी हुने भएका छन्।
एनआरएनएले विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गर्दै वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्याउने संयन्त्रमार्फत अभियान सञ्चालन गर्ने जनाएको छ।
तत्काल राहतदेखि पुनःस्थापनासम्म
भोटेकोशीको बाढीपछि रसुवा र नुवाकोटमा देखिएको संकट तत्काल राहत वितरणबाट मात्रै समाधान हुने अवस्था नरहेकाले एनआरएनएले आफ्नो विस्थापित तथा प्रभावित परिवारको पुनःस्थापनामा आवश्यक सहयोग गर्ने संघको योजना छ।
यससँगै विपद्को घडीमा विदेशमा रहेका नेपालीको आर्थिक तथा मानवीय सहयोगलाई प्रभावित क्षेत्रसम्म व्यवस्थित रूपमा पुर्याउने जिम्मेवारी पनि एनआरएनएको अभियानको महत्वपूर्ण पक्ष बनेको छ।