नेपालले अफगानिस्तानलाई २–० गोलले पराजित


काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।

ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले पराजित गरेको हो।

नेपालको जितमा जितेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो।

दोस्रो हाफको सुरुआतमै जितेस्पीजंगको गोलमार्फत नेपालले अग्रता लिएको थियो। ७८औँ मिनेटमा रोहित टोलीको अग्रता दोब्बर बनाए।

नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले ८७औँ मिनेटमा उत्कृष्ट बचाउ गर्दै खेललाई २–० को अग्रता कायम राखे। त्यसपछि बाँकी समय थप गोल नहुँदा नेपाल विजयी भयो।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो।