चीनको छेन्दु नगरले प्रदान गर्यो काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर उपहार


काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले दुईवटा ब्रुमर उपहार स्वरुप प्रदान गर्यो। काठमाडौं, राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका उपमेयर निउ छिङ्पाओेले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेको हो।

दुवै ब्रुमरको साँचो हस्तान्तरण कार्यक्रम पश्चात दुवै ब्रुमरको उदघाटन पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठवाट भएको थियो। ब्रुमर हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले चीनको छेन्दु नगरबाट उपहारस्वरुप ब्रुमरको सहयोगले काठमाडौंको सडकका धुलो नियन्त्रणमा थप सहयोग पुग्ने बताएका छन्।

मेयर शाक्यले यो आपसी हितको उहादरण हो भन्दै काठमाडौं महानगरवासीसको तर्फबाट चीनको छेन्दु नगरवासीलाई धन्यवाद पनि दिए। त्यस कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीचको सिकाइबाट नगर र नगरबासीको समृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरेकी छन्।

त्यसै क्रममा छेन्दु नगरका उपमेयर निउ छिङ्पाओले छेन्दु नगरबासीकातर्फबाट दिएको उपहारले काठमाडौंको वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। समारोहमा नेपालका लागि चिनियाँ दूताबासका डिपुटि चिफ अफ मिसन याङ् सृछाओले छेन्दुले दिएका ब्रुमरले शहरको धुलो न्युनिकरणमा सहयोग गर्ने बताए। छेन्दु नगरले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखा प्रमुख प्रमोद डंगोलका अनुसार ८।६ मिटर लम्बाइ र ३।५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् ।