विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने

काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य भएको छ। विद्यार्थीलाई नेपालबाटै आवश्यक परामर्श तथा अभिमुखीकरणदेखि विदेश पुगेपछि आवश्यक सहयोग र सहजीकरणसम्मको व्यवस्था मिलाउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो।

एनआरएनए केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा समझदारीपत्र आदानप्रदान गरिएको थियो।

समझदारीअनुसार विदेश अध्ययनमा जाने विद्यार्थीलाई प्रस्थानपूर्व परामर्श र अभिमुखीकरण प्रदान गरिनेछ। विदेश पुगेपछि भने आवास, रोजगारी, स्थानीय कानुन, स्वास्थ्य, सुरक्षा, मानसिक स्वास्थ्य, कल्याण तथा आपत्कालीन अवस्थासम्बन्धी आवश्यक सूचना र सहयोग उपलब्ध गराउन दुवै संस्थाले समन्वय गर्नेछन्।

विदेश पुगेपछि पनि विद्यार्थी एक्लै नहुने

समझदारीको मुख्य विशेषता ‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’ अवधारणा हो। इक्यानको नेपालस्थित शैक्षिक परामर्श सञ्जाल र एनआरएनएको विश्वव्यापी राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सञ्जाललाई जोडेर विद्यार्थीलाई गन्तव्य मुलुकमा आवश्यक पर्दा अभिभावकीय सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।

विद्यार्थी विदेश पुगेपछि नयाँ वातावरणमा घुलमिल हुन नसक्ने, आवास तथा रोजगारीसम्बन्धी समस्या आउने, स्थानीय कानुनबारे जानकारी नहुने वा स्वास्थ्य तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राखेर सहजीकरण संयन्त्र विकास गरिनेछ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विदेश अध्ययनमा जाने विद्यार्थीले नयाँ देशमा पुगेपछि विभिन्न व्यावहारिक चुनौती सामना गर्नुपर्ने बताउनुभयो।

उहाँले विदेश जानुअघि नै सही सूचना र पर्याप्त अभिमुखीकरण दिन सके धेरै समस्या न्यूनीकरण गर्न सकिने बताउँदै गन्तव्य मुलुकको शिक्षा प्रणाली, कानुनी व्यवस्था, रोजगारी, आवास र स्वास्थ्यलगायत विषयमा विद्यार्थीलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो।

एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत विदेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र सहजीकरण गर्न सकिने उहाँको भनाइ छ।

परामर्श व्यवसायमा पारदर्शितामा जोड

समझदारीले विद्यार्थी सहयोगसँगै शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने विषयलाई समेत समेटेको छ।

विद्यार्थीका व्यक्तिगत विवरण तथा गोपनीयताको संरक्षण, आपत्कालीन सम्पर्क संयन्त्रको सम्भाव्यता अध्ययन र संयुक्त रूपमा प्रस्थानपूर्व तथा गन्तव्य मुलुक पुगेपछिका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

इक्यान अध्यक्ष लक्ष्मण पौडेलले समझदारीलाई दुई संस्थाबीचको सहकार्यको महत्वपूर्ण सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो।

विदेश जानुअघि विद्यार्थीले स्वदेशमै सही सूचना, परामर्श र तयारी पाउने तथा विदेश पुगेपछि आवश्यक पर्दा एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्झौता महत्वपूर्ण हुने उहाँको भनाइ छ।

विद्यार्थीको सुरक्षा र अधिकार केन्द्रमा

कार्यक्रममा इक्यानका प्रथम उपाध्यक्ष बासुदेव दाहाल, द्वितीय उपाध्यक्ष विकल्पराज पोखरेल, महासचिव भवनाथ हुमागाईं, प्रथम सचिव सुरज सिलवाल, सह–कोषाध्यक्ष गोविन्द खनाल तथा कार्यसमिति सदस्य दामोदर न्यौपाने सहभागी हुनुहुन्थ्यो।

एनआरएनएका तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राईदिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री तथा सल्लाहकार यास्मिन सइद बेगमलगायतको सहभागिता थियो।

इक्यानका अनुसार यो सहकार्यले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र कल्याण प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।

त्यससँगै विदेशबाट विद्यार्थीले हासिल गर्ने ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन आधार निर्माण गर्नसमेत सहकार्यले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विदेश अध्ययनको तयारीदेखि गन्तव्य मुलुकमा आइपर्ने समस्यासम्म विद्यार्थीलाई साथ दिने उद्देश्यसहित अघि बढाइएको यो सहकार्यको मूल सन्देश स्पष्ट छ—‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए।’