भक्तपुर विकास सहयोग संघको ३५औँ स्थापना दिवस, विभिन्न व्यक्तित्व सम्मानित


बौद्धिक सम्पत्ति ‘खोपुङ’ सार्वजनिक, शैक्षिक सहयोग कार्यक्रमसमेत घोषणा

काठमाडौं, भदौ ६ । भक्तपुर विकास सहयोग संघले आफ्नो ३५औँ स्थापना दिवस तथा ३२औँ साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। संघले स्थापना दिवसको अवसरमा आफ्नो बौद्धिक सम्पत्ति ‘खोपुङ’ सार्वजनिक तथा वितरण गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई ‘खोपुङ रत्न सम्मान–२०८३’ बाट सम्मान गरेको छ।

शनिबार काठमाडौंको बुद्धनगरस्थित डी.डी.आई. ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संघले ‘खोपुङ मुट्ठीदान आशिक शैक्षिक सहयोग कार्यक्रम–२०८३’ समेत अघि बढाएको जनाएको छ।

कार्यक्रमको सञ्चालन सविता राजोपाध्यायले गर्नुभएको थियो। संघका सल्लाहकार प्रा. कोमल वदन मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सीमाविद् तथा नेपालको चुच्चे नक्साका प्रवर्तक बुद्धिनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रम संघका अध्यक्ष राजु मृगेन्द्र जोशीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। तथा ३५औँ स्थापना दिवस एवं ३२औँ साधारण सभाका संयोजक किरण राज सुवेदी हुनुहुन्थ्याे।

योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित

संघले शिक्षा, स्वास्थ्य, संस्कृति, पुरातत्व, वास्तुकला, पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई ‘खोपुङ विशेष सम्मान’ प्रदान गरेको छ।

सम्मानित हुनेमा संघका वरिष्ठ सल्लाहकार तथा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डिन प्रा. डा. सर्वज्ञ भक्त मल्ल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निवर्तमान निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमला रहेकाे थियोे।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य मल्ल, नवदुर्गा जात्रा व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार नारायण मान बनमाला, युवा वास्तुकार तथा पर्यटन एवं डिजिटल नक्साङ्कनकर्ता यश मुनंकर्मी र मृत्यु संस्कारको शुद्धीकरण अभियानमा निरन्तर सक्रिय भानुभक्त शिवाचार्य उपस्थिती थियोे।

कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री हरिप्रभा श्रेष्ठ खड्गीको समेत विशेष उपस्थिति थियो।

सामाजिक तथा शैक्षिक अभियानमा जोड

स्थापना दिवससँगै संघले आफ्ना गतिविधिलाई सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। ‘खोपुङ मुट्ठीदान आशिक शैक्षिक सहयोग कार्यक्रम’मार्फत आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको संघले जनाएको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

संघको स्थापना दिवस तथा साधारण सभा केवल औपचारिक वार्षिक कार्यक्रमका रूपमा सीमित नरही भक्तपुरको सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मान र भावी सामाजिक अभियानका लागि नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।