नेपाल रेडक्रस सोसाइटी, सामुदायिक विकास विभागअन्तर्गत सञ्चालित सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजना–तेस्रो चरणको कार्यक्रम समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको कार्यालय, दुलेगौंडा, तनहुँमा आयोजित कार्यशालामा शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, नेपाल रेडक्रस सोसाइटी सामुदायिक विकास विभागका निर्देशक, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका सभापति, मन्त्री, कोषाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शुक्लागण्डकी पालिका शाखाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी थप्रेक र ढोरफिर्दि उपशाखा सभापति, स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मीहरूको माझमा परियोजनाअन्तर्गत भएका गतिविधि, उपलब्धि, चुनौती तथा सिकाइका विषयमा समीक्षा गर्दै सफलता साझा गरिएको थियो ।
जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन प्रवद्र्धन गर्ने उद्देश्यले परियोजनाले स्थानीय बासिन्दालाई प्रविधि तथा सीप हस्तान्तरण, उत्पादन वृद्धि, उद्यमशीलता विकास र आयआर्जनका अवसर विस्तारमा सहयोग पु-याउँदै आएको छ।
स्थानीय ज्ञान, मौलिक अभ्यास र परम्परागत सीपलाई संरक्षण गर्दै जलवायु परिवर्तन अनुकूलनका उपायहरूलाई समेत कार्यक्रमसँग जोडिएको छ।
नेपालमा उत्पादित जैविक तथा अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने लक्ष्यसहित स्थानीय उत्पादन, प्रशोधन, बजारीकरण र प्रविधिको प्रयोगमा जोड दिइएको छ । विशेषगरी स्थानीय युवालाई प्रविधि तथा सीप हस्तान्तरण गरी सामाजिक तथा आर्थिक विकासमा सक्रिय बनाउन परियोजनाले महत्वपूर्ण योगदान पु-याएको छ।

स्थानीय सरकारको विकास अवधारणासँग सहकार्य गर्दै जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन र स्थानीय जीविकोपार्जनलाई एकीकृत रूपमा अघि बढाइएको छ । यस कार्यक्रमले समुदायको सामाजिक आर्थिक सशक्तीकरणमा थप योगदान पु-याउने अपेक्षा गरिएको छ ।
