काठमाडौं। ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढिरहेको बताए।
अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन्।
उनका अनुसार विगतमा सफल बिक्रीकर्मी मुख्यतः अनुभव, अन्तर्ज्ञान र व्यक्तिगत सम्बन्धमा निर्भर हुने गरेकामा अहिले ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल संलग्नता, बजार प्रवृत्ति, प्रतिक्रिया तथा कारोबारसम्बन्धी तथ्यांकले व्यवसायलाई थप सटीक निर्णय लिन सहयोग गरिरहेको छ।
‘डेटा आफैंमा सफलता होइन, सही विश्लेषण आवश्यक’
अध्यक्ष अग्रवालले डेटा आफैंमा सफलताको आधार नभएको उल्लेख गर्दै त्यसलाई सही ढंगले विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने बताए।
“डेटा आफैंमा सफलताको आधार होइन, त्यसलाई सही रूपमा विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्छ,” उनले भने।
उनले बिक्री व्यवसायको भविष्यका लागि डेटा संकलन र बुझ्ने क्षमता, त्यसको बुद्धिमत्तापूर्ण विश्लेषण तथा प्राप्त जानकारीलाई ग्राहकको हित र व्यावसायिक परिणाममा रूपान्तरण गर्ने क्षमता आवश्यक रहेको बताए।
एआईले बिक्री क्षेत्रमा ठूलो परिवर्तन ल्याउँदै
कृत्रिम बुद्धिमत्ता (एआई) ले व्यवसाय र बिक्री क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको छ। एआईको प्रयोगबाट ग्राहकको आवश्यकता बुझ्न, मागको पूर्वानुमान गर्न, व्यक्तिगत रूपमा ग्राहकसँग सञ्चार गर्न, सम्भावित व्यावसायिक अवसर पहिचान गर्न तथा बिक्री उत्पादकत्व बढाउन सकिने छ।
तर प्रविधिले उत्कृष्ट बिक्रीकर्मीलाई पूर्ण रूपमा विस्थापित गर्न नसक्ने ।
“प्रविधि महत्वपूर्ण उपकरण हो, तर विश्वास, मानवीय सम्बन्ध, सहानुभूति र प्रभावकारी संवादको विकल्प प्रविधि मात्र हुन सक्दैन,”।
बिक्री क्षेत्रमा प्रविधिको प्रयोगसँगै मानवीय सम्बन्ध र ग्राहककेन्द्रित सोचलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ।
पर्यटनदेखि कृषिसम्म ठूलो सम्भावना
अध्यक्ष अग्रवालले नेपालको आर्थिक रूपान्तरणमा दक्ष र सक्षम बिक्री तथा व्यावसायिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताए। पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा, खुद्रा व्यापार तथा सिर्जनात्मक उद्योगमा नेपालसँग ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
तर उत्पादन वा सेवा तयार गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई नेपालभित्र तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा पुर्याउने रणनीति पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।
उनले प्रश्न गरे, “हाम्रो पर्यटन उद्योगले कसरी उच्च मूल्यका पर्यटक आकर्षित गर्न सक्छ? नेपाली सूचना प्रविधि व्यवसायीले कसरी विश्व बजारमा डिजिटल सेवा बिक्री गर्न सक्छन्? कृषि उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ?”
यी विषय सरकारको मात्र नभई निजी क्षेत्रको समेत साझा जिम्मेवारी भएको उनको भनाइ छ।
मानव पूँजीमा लगानी आवश्यक
मानव पूँजी विकासलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। प्रविधिले आवश्यक उपकरण उपलब्ध गराए पनि वास्तविक परिणाम मानिसकै सिर्जनशीलता, क्षमता र निर्णयबाट आउने छ।
नेपाललाई प्रविधिमा दक्ष, डेटा–आधारित सोच भएका, सिर्जनशील, नैतिक, ग्राहककेन्द्रित र प्रभावकारी सञ्चार क्षमता भएका बिक्री व्यवसायी आवश्यक रहेकोछ।
शैक्षिक योग्यता मात्र आजको प्रतिस्पर्धी बजारमा पर्याप्त नहुने भन्दै निरन्तर सिकाइ, व्यावहारिक सीप र व्यावसायिक नेतृत्व विकासमा जोड दिनुपर्ने छ।
ग्राहक अझै सचेत, व्यवसायमा विश्वास महत्वपूर्ण
अध्यक्ष अग्रवालले आधुनिक ग्राहक विगतभन्दा बढी सचेत र सूचनासम्पन्न रहेको बताए। ग्राहकले उत्पादन, मूल्य, गुणस्तर तथा कम्पनीको प्रतिष्ठाबारे तत्काल जानकारी लिन सक्ने अवस्था रहेको भन्दै व्यवसायमा विश्वास निर्माण र नैतिक बिक्री अभ्यास झनै महत्वपूर्ण बनेको बताए।
उनले युवालाई प्रविधि, डेटा विश्लेषण, सञ्चार, वार्ता कौशल तथा आफ्ना असफलताबाट सिक्ने बानी विकास गर्न आग्रह गरे।
“महत्वाकांक्षी बन्नुहोस्, तर नैतिक पनि बन्नुहोस्। प्रतिस्पर्धी बन्नुहोस्, तर सहकार्यको भावना पनि राख्नुहोस्। प्रविधिको प्रयोग गर्नुहोस्, तर मानवीय सम्बन्ध कहिल्यै नबिर्सनुहोस्,” उनले भने।
निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्यमा जोड
अग्रवालले निजी क्षेत्र, शैक्षिक संस्था तथा व्यावसायिक एकेडेमीहरूबीच सहकार्य गरी नयाँ पुस्तालाई भविष्यको बजारका लागि तयार पार्नुपर्ने बताए।
विचार आदानप्रदान, नेतृत्व विकास, प्रविधिको प्रयोग तथा व्यावसायिक सीप अभिवृद्धिमार्फत नेपालमा दक्ष जनशक्ति विकास गर्न सकिने उनले बताए।
हरेक चुनौती र असफलतालाई नयाँ अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले निरन्तर सिकाइ, आत्मविश्वास, नैतिकता र नवप्रवर्तनको संयोजनले नेपाली व्यवसाय र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास व्यक्त गरे।