निराज रानाभाट, काठमाडौं । नेपाल स्क्वास र्याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता – २०२६’ आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् बाट स्वीकृति लिएर आयोजना गर्न लागिएको प्रतियोगिता २०८३ भदौ ६ गतेदेखि ९ गतेसम्म (तदनुसार अगस्ट २२ देखि २५ तारिखसम्म) ललितपुरको सातदोबाटो (एन्फा नजिकै) स्थित नेपाल स्क्वास तथा र्याकेट्स संघ स्क्वास कोर्टमा सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन भदौ ६ गते बिहान ९:३० बजे तथा समापन भदौ ९ गते साँझ ५:३० बजे गर्ने तयारी गरिएको छ । प्रतियोगिता ४ दिनसम्म बिहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म र साँझ ४:०० बजेदेखि राति ७:०० बजेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया र यु.के. देशका १६ जना खेलाडीहरु सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताको ड्र साइज ८, १६ र ३२ जनाको हुने भए पनि यसपटक १६ जना खेलाडीलाई ड्रमा सहभागी गराइने बताइएको छ । संघका अनुसार प्रतियोगितामा मोनार्ड ड्रअनुसार कुल ३५ वटा खेल सञ्चालन हुने छन् । प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा स्क्वास खेलको स्तर उकास्नुका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर प्रदान गर्नु रहेको छ । विश्वभर लोकप्रिय बन्दै गएको स्क्वास खेल सन् सन् २०२८ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने ओलम्पिक खेलकुदमा समेत समावेश गरिएको छ । नेपालमा पनि स्क्वास खेललाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले प्रदेश स्तरमा स्क्वास कोर्ट निर्माण गरी खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको संघले जनाएको छ ।
दक्षिण एसियाली खेलकुदमा पुरुष तथा महिला खेलाडीले कास्य पदक हासिल गर्दै आएको स्क्वास खेल पछिल्लो समय नेपालमा विस्तार हुँदै गए पनि पोखरा र ललितपुरमा मात्र सीमित रहेको संघको भनाइ छ । त्यसैले प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण र खेलको पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ।
संघले वार्षिक रूपमा ६ वटा राष्ट्रिय तथा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यसै क्रममा थप व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका रूपमा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता’ आयोजना गर्न लागिएको हो । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । पुरस्कार रकमको बाँडफाँट यसप्रकार गरिएको छ ;
च्याम्पियन (४० प्रतिशत) : ४०० अमेरिकी डलर
उप – विजेता (२० प्रतिशत) : २०० अमेरिकी डलर
सेमिफाइनलका प्रत्येक खेलाडी (१० प्रतिशत) : १०० अमेरिकी डलर
क्वार्टरफाइनलका प्रत्येक खेलाडी (५ प्रतिशत) : ५० अमेरिकी डलर
विजेता खेलाडीलाई नगद पुरस्कारसँगै ट्रफी र प्रमाण – पत्रसमेत प्रदान गरिने छ ।

संघले प्रतियोगिताको लागत खर्च स्वयं व्यहोर्ने जनाएको छ, भने राष्ट्रिय खेलकुद परिषद् बाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ । स्क्वास खेललाई ‘अल वेदर गेम’ का रूपमा खेल्न सकिने र छोटो समयमा प्रभावकारी शारीरिक कसरत हुने भएकाले व्यस्त जीवनशैली अपनाउने तथा स्वास्थ्य र सौन्दर्यप्रति सचेत व्यक्तिका लागि समेत उपयुक्त रहेको संघको भनाइ छ । टेनिस र ब्याडमिन्टनको तुलनामा स्क्वास तुलनात्मक रूपमा सस्तो खेल भए पनि यसको नियम तथा खेल्ने तरिकाबारे पर्याप्त जानकारी नहुँदा नयाँ खेलाडीका लागि केही कठिन हुने गरेको बताइएको छ ।यसैलाई मध्यनजर गर्दै संघले स्क्वास खेलका नियम, प्रविधि र खेलसम्बन्धी जानकारी दिने उद्देश्यले छोटा भिडियो सामग्रीमार्फत प्रचारप्रसार गर्ने तयारीसमेत गरेको छ । यसबाट नेपाली युवालाई स्क्वास खेलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।