काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले डेपुटी गभर्नरका रूपमा पदभारसमेत ग्रहण गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।
शपथ ग्रहण समारोहमा गभर्नरले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा गभर्नर पौडेलले राष्ट्र बैंकको नेतृत्वमा रावलको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशकका रूपमा उनले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए। बैंकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षणमा लामो अनुभव हासिल गरेका रावलको डेपुटी गभर्नर नियुक्तिसँगै राष्ट्र बैंकको उच्च व्यवस्थापनमा नयाँ जिम्मेवारी थपिएको छ।