नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे, पाण्डे समूहका पदाधिकारीहरूमा बहुमत, 


काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनबाट पाण्डे १८८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा युविका भण्डारीले १५८ मत र जिस्वाँ तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरिन्। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठ, महासचिव युविका भण्डारी र पूर्व कार्यसमिति सदस्य भरतजंग पाण्डेको नेतृत्वमा तीन समूह प्रतिस्पर्धामा थिए।

मध्यरातमा सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार पाण्डे समूहले पदाधिकारीतर्फ सबै पदमा प्यानलसहित विजय हासिल गरेको छ। कुल ४५३ मत खसेको निर्वाचनमा कार्यसमिति सदस्यतर्फ पाण्डे समूहबाट पाँच र युविका भण्डारी समूहबाट तीन जना निर्वाचित भएका छन्।

यस्तो बन्यो नाट्टाको नयाँ नेतृत्व

वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भए। उनले विष्णु पाण्डेलाई ११६ र बरुण मेहतालाई ८० मतले पछि पारे।

उपाध्यक्षमा सविता के.सी. भट्टराई १७७ मतसहित विजयी भइन्। ढकनाथ काफ्लेले १४१ र प्रज्ञा पाठक (शर्मा) ले १३३ मत प्राप्त गरे।

महासचिवमा राजकुमार देवकोटा १५८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कृष्णप्रसाद ढकालले १४९ र सुशील पन्तले १४१ मत पाए।

सचिवमा रमेश पराजुली १९५ मतसहित निर्वाचित भए। श्रद्धा जोशीले १४० र रमेश घिमिरेले ११३ मत प्राप्त गरे।

कोषाध्यक्षमा दीकी शेर्पाले २०८ मतसहित विजय हासिल गरिन्। कृष्णप्रसाद ढकालले १२३ र रमा कुमारी प्याकुरेलले ११४ मत प्राप्त गरे।

सह–कोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भए। डा. विमला दाहालले १५४ र विदुरप्रसाद खतिवडाले १०२ मत प्राप्त गरे।

कार्यसमितिमा आठ जना निर्वाचित

नाट्टाको कार्यसमिति सदस्यमा स्मारिका थापा सर्वाधिक २११ मतसहित निर्वाचित भइन्। त्यसपछि प्रकाश लोहनीले २१०, नवीन गुरुङले २०५, दिनेश मैनालीले १८९, सुमनलाल श्रेष्ठले १८८, स्वस्तिका प्रधानले १८४, संकेत दाहालले १६५ र विभाष पौडेलले १५८ मत प्राप्त गरे।

निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति तथा प्रमुख निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

निवर्तमान अध्यक्षको सहयोगको प्रतिबद्धता

निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले नयाँ नेतृत्वलाई बधाई दिँदै नाट्टालाई नयाँ ऊर्जा र योजनासहित अघि बढाउन आग्रह गरे। आफू नयाँ कार्यसमितिलाई आवश्यक सहयोग गर्न सधैँ तयार रहेको बताउँदै उनले सफल कार्यकालको शुभकामनासमेत दिए।

‘व्यक्तिका लागि होइन, संस्थाका लागि निर्वाचनमा होमिएको हुँ’

नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेले आफू व्यक्तिगत स्वार्थका लागि नभई संस्थाको हित र नाट्टालाई थप सुदृढ बनाउने उद्देश्यसहित निर्वाचनमा सहभागी भएको बताए।

निर्वाचनमा आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाता तथा सहयोगीप्रति आभार व्यक्त गर्दै पाण्डेले अब नाट्टालाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा अहोरात्र काम गर्ने प्रतिबद्धता जनाए।

उनले संस्थाको आगामी कार्यदिशा नयाँ ढंगबाट निर्धारण गरी अघि बढ्ने बताउँदै नयाँ नेतृत्वलाई सफल बनाउन सबै सदस्यको सहयोग आवश्यक रहेको उल्लेख गरे।

नयाँ कार्यसमितिको नेतृत्वमा नाट्टाले पर्यटन तथा ट्राभल व्यवसायका समसामयिक चुनौती, व्यवसायीका समस्या, नीतिगत विषय तथा पर्यटन उद्योगको विस्तारका मुद्दालाई कसरी अघि बढाउँछ भन्ने विषयलाई अब चासोका साथ हेरिएको छ।