काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ।
नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यासको बिक्री–वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमले पाँचबुँदे व्यवस्था लागू गरेको जनाएको छ। नयाँ व्यवस्थाले ग्यास वितरणमा हुने कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता नियन्त्रण गर्न बिक्रेता तहसम्म निगरानी बढाउने लक्ष्य राखेको छ।
दैनिक बिक्री विवरण निगमलाई बुझाउनुपर्ने
नयाँ व्यवस्थाअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिने सिलिण्डरको संख्या सहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगममा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले घरायसी प्रयोजनका लागि ग्यास अत्यावश्यक भएका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न उद्योग तथा बिक्रेतालाई निर्देशन दिएको छ।
जिल्ला प्रशासनमार्फत सुरक्षा सहजीकरण
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षासम्बन्धी समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि अनुरोध गरिएको निगमले जनाएको छ।
त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका कर्मचारीसमेत सहभागी संयुक्त टोलीमार्फत ग्यास बिक्री–वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
संयुक्त अनुगमन टोलीले डिलर तथा बिक्रेताबाट हुने बिक्रीमा कालोबजारी, कृत्रिम अभाव तथा अन्य अनियमितता भए–नभएको निगरानी गर्नेछ।
ग्यास नपाए क्यूआरटीमा सम्पर्क गर्न सकिने
आफूलाई पायक पर्ने बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले नेपाल आयल निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्।
निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गरेको छ।
निगमले उपभोक्तालाई अनावश्यक भीड नगर्न, आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाबाट ग्यास खरिद गर्न तथा बिक्री–वितरणमा देखिएका समस्या तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
नयाँ व्यवस्थाले ग्यास वितरण प्रणालीलाई थप पारदर्शी बनाउनुका साथै वास्तविक उपभोक्तासम्म सहज रूपमा ग्यास पुग्ने र बजारमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।