योग तथा प्राकृतिक चिकित्सक संघमा पुनः जनक बस्नेतको नेतृत्व


काठमाडौं। योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालको १८औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनले डा. जनकबहादुर बस्नेतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।

शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, मातातीर्थस्थित जंगल महल वेलनेस रिसोर्टमा सम्पन्न महाधिवेशनले डा. बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। डा. बस्नेत विगत १८ वर्षदेखि संघको नेतृत्व गर्दै आएका छन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइँजु चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिषेक गुरागाईं चयन भएका छन्।

महाधिवेशनमा योग तथा प्राकृतिक चिकित्सकहरूको पेसागत हकहित, योग तथा प्राकृतिक चिकित्सा विधाको विकास, चिकित्सकहरूको क्षमता अभिवृद्धि, सदस्यता विस्तार तथा संघको संस्थागत र आर्थिक सुदृढीकरणलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा विभिन्न वक्ताहरूले योग तथा प्राकृतिक चिकित्साको सम्भावना, यसको विस्तार तथा चिकित्सकहरूको व्यावसायिक भूमिकाबारे धारणा राखेका थिए।

महाधिवेशनबाट पुनः नेतृत्वमा चयन भएपछि डा. बस्नेतले नेपालमा योग तथा प्राकृतिक चिकित्साको प्रवर्द्धनसँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेसागत अधिकार र व्यावसायिक सुरक्षाका लागि प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले योग तथा प्राकृतिक चिकित्सालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै चिकित्सकको क्षमता विकास, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणलाई आगामी कार्यकालमा प्राथमिकतामा राख्ने जनाएको छ।