सिरहा र सप्तरीका कृषक समूह राष्ट्रिय कृषक समूह महासंघमा आबद्ध


काठमाडौं। दिदीबहिनी संस्थाले सिरहा र सप्तरी जिल्लामा विभिन्न परियोजनामार्फत काम गरेका कृषक समूहलाई राष्ट्रिय कृषक समूह महासंघ, नेपालमा आबद्ध गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

साउन २८ गते आयोजित कार्यक्रममा दिदीबहिनी संस्थामार्फत सिरहा र सप्तरीमा परियोजना सञ्चालनका क्रममा गठन तथा सहजीकरण गरिएका कृषक समूहलाई राष्ट्रिय कृषक समूह महासंघमा आबद्ध गराउने विषयमा छलफल गरिएको हो।

कार्यक्रममा कृषक समूहको संस्थागत विकास, किसानका अधिकारका लागि पैरवी तथा कृषकको सशक्तीकरणमा महासंघसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले दिदीबहिनी संस्थाले कृषक समूहलाई महासंघसँग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। कृषकका अधिकारका लागि पैरवी गर्ने अभियानमा थप समूह जोडिनुले किसानको सशक्तीकरणमा थप बल पुग्ने उनको भनाइ थियो।

उनले सिरहा र सप्तरीमा परियोजनामार्फत काम गरेका कृषक समूहलाई महासंघमा आबद्ध गराउन सहजीकरण गर्ने दिदीबहिनी संस्थाका कार्यक्रम संयोजक विपिन अर्याल, फिल्ड म्यानेजर खरभूषण तथा अनुगमन तथा मूल्यांकन अधिकृत अनु पोखरेलप्रति धन्यवाद व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले कृषक समूहलाई महासंघमा आबद्ध गराउने कार्यले महासंघलाई किसानका अधिकार र सवालप्रति अझ जिम्मेवार बनाएको बताए। उनले नवआबद्ध समूहलाई किसानका अधिकारको अभियानमा एकताबद्ध भएर अघि बढ्न र महासंघसँग सहकार्य गर्दै काम गर्न स्वागतसमेत गरे।

दिदीबहिनी संस्थाले सिरहा र सप्तरीमा सञ्चालन गरेका परियोजनामार्फत कृषक समूहसँग गरेको कामलाई संस्थागत रूपमा अघि बढाउन महासंघसँगको आबद्धता महत्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो।

महासंघले कृषक समूहलाई संगठित गर्दै किसानका साझा सवाल, अधिकार र नीतिगत विषयमा पैरवी गर्दै आएको छ। सिरहा र सप्तरीका थप कृषक समूह महासंघसँग जोडिएसँगै स्थानीय तहमा किसानको आवाजलाई संगठित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।