काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा.लि.मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्।
नागरिक लगानी कोष र मनकामना अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई २० प्रतिशत छुट प्रदान गरिनेछ।
सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सामान्य स्वास्थ्य सेवामा २० प्रतिशत छुटका अतिरिक्त सिटी स्क्यान र अपरेशन सेवामा थप १०/१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।
छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, कोषमा आबद्ध भएको प्रमाणपत्र वा पहिचान खुल्ने अन्य आवश्यक कागजात अस्पतालमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौताले नागरिक लगानी कोषसँग आबद्ध सेवाग्राहीलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।