“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?”
काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि र आकर्षक स्टलले आगन्तुकको ध्यान खिचिरहेका छन्। गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी भव्य र व्यवस्थित देखिन्छ। तर, प्रदर्शनीको चमकभित्र प्रवेश गर्दा एउटा असहज प्रश्न पनि उभिन्छ; के नाइमा मोविलिटी अटो शो साँच्चिकै ठूलो मात्र भएको हो, कि व्यवस्थापनको स्तरमा पनि उत्कृष्ट बन्न सकेको छ?
सामान्य आगन्तुकको आँखाबाट हेर्दा समस्या गाडीमा छैन, कम्पनीका स्टलमा छैन। समस्या समग्र कार्यक्रम व्यवस्थापनको ‘बेसिक प्लानिङ’मै देखिन्छ।
अटोमोबाइल कम्पनीहरूले आफ्ना स्टलमा उल्लेखनीय मेहनत गरेका छन्। कतिपय कम्पनीले लाखौं रुपैयाँ खर्च गरेर आकर्षक स्टल निर्माण गरेका छन्। ग्राहकसँग संवाद गर्न दक्ष कर्मचारी खटाएका छन्। कतिपयले आफ्नै खर्चमा एसी, चिसो पानी, चिया–कफी तथा अन्य सुविधा उपलब्ध गराएका छन्।
अर्थात् कम्पनीहरूले आफ्ना ग्राहकको अनुभवलाई गम्भीर रूपमा लिएका छन्। तर प्रश्न आयोजकतर्फ फर्किन्छ; समग्र कार्यक्रमस्थलमा आउने ती ग्राहकको अनुभव व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो?
स्टल चम्काएर मात्रै अटो शो उत्कृष्ट हुँदैन:
अटो शोको सफलता नयाँ गाडीको संख्या, ब्रान्डको सहभागिता वा स्टलको आकर्षणले मात्र निर्धारण हुँदैन। एक आगन्तुकका लागि अटो शोको अनुभव गेटबाट सुरु हुन्छ र गाडी हेरेर फर्किएपछि मात्र समाप्त हुन्छ।
- गेटसम्म कसरी पुग्ने?
- गाडी कहाँ पार्क गर्ने?
- कति समय लाइन बस्नुपर्ने?
- हलभित्र हावा कस्तो छ?
भीडलाई कसरी व्यवस्थापन गरिएको छ?
आपत्कालीन अवस्था आए के गर्ने?
वृद्ध, बालबालिका र अशक्त व्यक्तिका लागि पहुँच कस्तो छ?
यी सबै कुरा पनि अटो शोको हिस्सा हुन्। तर अहिले देखिएको व्यवस्थापनले यस्तो लाग्छ। आयोजकले प्रदर्शनीलाई ‘इभेन्ट’ का रूपमा सोच्यो, तर आगन्तुकको सम्पूर्ण यात्रालाई ‘अनुभव’ का रूपमा सोच्न सकेन।
कार्यक्रम गर्मीको समयमा हुँदैछ भन्ने आयोजकलाई पहिले नै थाहा थियो। त्यसैले पर्याप्त भेन्टिलेसन, हावा आवतजावत, कूलिङ र भीडअनुसारको वातानुकूलित व्यवस्थाको योजना कार्यक्रम सुरु हुनुअघि नै बन्नुपर्ने थियो।
तर कतिपय स्थानमा गर्मी र हावाको अभावले आगन्तुकलाई असहज बनाएको देखिन्छ। कतिपय ठाउँमा प्रयोग गरिएका अस्थायी पंखा पनि सुरक्षित र व्यवस्थित देखिँदैनन्।
यो सामान्य असुविधा मात्र होइन। हजारौं मानिस जम्मा हुने कार्यक्रमस्थलमा तापक्रम, हावाको प्रवाह र विद्युत् उपकरणको सुरक्षा ‘सानो कुरा’ होइन।
ठूलो कार्यक्रमको व्यवस्थापनमा ‘पछि मिलाउँला’ भन्ने सोचले जोखिम बढाउँछ।
पार्किङ : आयोजकको सबैभन्दा कमजोर पक्ष
अझ गम्भीर समस्या पार्किङ व्यवस्थापनमा देखिन्छ।अटो शो हेर्न आउने अधिकांश आगन्तुक स्वाभाविक रूपमा आफ्नै सवारीसाधन लिएर आउँछन्। यस्तो कार्यक्रममा पार्किङको माग कति हुन्छ भन्ने अनुमान गर्न कुनै जटिल अध्ययन आवश्यक पर्दैन।
तर कार्यक्रमस्थलमा पर्याप्त पार्किङको व्यवस्था नहुँदा कतिपय आगन्तुकले सवारी पार्क गर्ने ठाउँ नपाएर फर्किनुपरेको अवस्था देखिनु आयोजकीय कमजोरीको स्पष्ट संकेत हो।
यहाँ प्रश्न सीधा छ; यदि पार्किङ सीमित थियो भने आगन्तुकलाई पहिले नै किन जानकारी दिइएन?
वैकल्पिक पार्किङ क्षेत्र तोक्न सकिन्थ्यो।
शटल सेवा सञ्चालन गर्न सकिन्थ्यो।
नजिकका निजी पार्किङसँग सम्झौता गर्न सकिन्थ्यो।
अनलाइनमार्फत पार्किङसम्बन्धी सूचना दिन सकिन्थ्यो। कम्तीमा ‘पार्किङ उपलब्ध छैन’ भनेर स्पष्ट पूर्वसूचना दिन सकिन्थ्यो।
तर यीमध्ये प्रभावकारी विकल्प नदेखिनु भनेको कार्यक्रमको आगन्तुक व्यवस्थापन योजना अपूरो रहेको संकेत हो।
आगन्तुक गाडी हेर्न आएको हो, पार्किङ खोज्न होइन
अटो शोको सबैभन्दा विडम्बनापूर्ण पक्ष यही हो।
जसले नयाँ गाडी हेर्न, टेस्ट ड्राइभ गर्न, ब्रान्डसँग संवाद गर्न वा भविष्यको खरिद निर्णय गर्न समय निकालेर आएको छ, उसले कार्यक्रमस्थल पुगेर पहिलो समस्या नै पार्किङको सामना गर्नुपर्छ।त्यसपछि गर्मी, भीड र असहज वातावरण थपिन्छ।अन्ततः ग्राहकको दिमागमा नयाँ गाडीको डिजाइनभन्दा पहिले ‘यहाँ आउनै गाह्रो रहेछ’ भन्ने अनुभव बस्न सक्छ।
यो आयोजकका लागि केवल व्यवस्थापनको समस्या होइन, ब्रान्ड इमेजको समस्या पनि हो।
किनकि आगन्तुकले कम्पनी र आयोजकलाई छुट्टाछुट्टै मूल्यांकन गर्दैन। उसले सम्पूर्ण अनुभवलाई ‘नाइमा अटो शो’ भनेर सम्झन्छ।
कम्पनीले लाखौं खर्च गर्ने, आयोजकले आधारभूत सुविधा पनि नदिने?
यो प्रश्न अब सहभागी अटोमोबाइल कम्पनीहरूले पनि उठाउनुपर्ने बेला आएको छ। कम्पनीहरूले स्टल निर्माण, ब्रान्डिङ, कर्मचारी, ग्राहक सुविधा र प्रचारमा ठूलो रकम खर्च गरिरहेका छन्।
उनीहरूको उद्देश्य स्पष्ट छ, ग्राहकलाई आफ्नो ब्रान्डको उत्कृष्ट अनुभव दिने। तर यदि ग्राहक कार्यक्रमस्थलमै असहज हुन्छ भने स्टलभित्रको उत्कृष्ट अनुभवको प्रभाव पनि कमजोर हुन्छ।
त्यसैले सहभागी कम्पनीहरूले आयोजकसँग केवल स्टलको क्षेत्रफल, शुल्क र ब्रान्डिङको विषयमा मात्र होइन, समग्र आगन्तुक व्यवस्थापनको गुणस्तरबारे पनि प्रश्न गर्नुपर्छ।
किनकि उनीहरूले ग्राहकलाई कार्यक्रममा ल्याउने खर्च गरिरहेका छन्, तर ग्राहकले कार्यक्रमस्थलमा पाउने आधारभूत अनुभव आयोजकको हातमा छ।
‘हरेक वर्ष यस्तै हो’ आयोजकको पर्याप्त उत्तर होइन
नेपालमा ठूला कार्यक्रमको व्यवस्थापनमा देखिने एउटा पुरानो मानसिकता हो;‘यस्तै हुन्छ।’
भीड भयो:- यस्तै हुन्छ।
पार्किङ पाएनन्य:- स्तै हुन्छ।
गर्मी भयो:- यस्तै हुन्छ।
लाइन लाग्यो:- यस्तै हुन्छ।
तर ठूलो कार्यक्रमको व्यवस्थापनमा यही मानसिकता सबैभन्दा ठूलो समस्या हो।
हरेक वर्ष कार्यक्रम हुँदै आएको छ भने हरेक वर्ष समस्या दोहोरिनुको अर्थ अनुभवबाट पर्याप्त सिकिएको छैन भन्ने हो।
अघिल्लो वर्षको समस्या यस वर्ष समाधान हुनुपर्ने हो। यस वर्ष देखिएको समस्या अर्को वर्ष नदोहोरियोस् भन्ने तयारी हुनुपर्ने हो।
ठूलो इभेन्टको परिपक्वता दर्शकको संख्या बढाएर होइन, समस्या घटाएर देखिन्छ।
सुरक्षाको प्रश्न अझ गम्भीर छ
भेन्टिलेसन र पार्किङको असुविधा मात्र होइन, भीड व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको सुरक्षा पनि महत्वपूर्ण छ।
अस्थायी विद्युत् उपकरण, पंखा, तार व्यवस्थापन, भीडको आवतजावत, आपत्कालीन निकास, प्राथमिक उपचार, अग्नि सुरक्षा र आकस्मिक उद्धारको स्पष्ट व्यवस्थापन ठूलो प्रदर्शनीका अनिवार्य पक्ष हुन्।
हजारौं मानिस एकै ठाउँमा जम्मा हुने कार्यक्रममा ‘दुर्घटना नभएसम्म सबै ठीक छ’ भन्ने दृष्टिकोण स्वीकार्य हुन सक्दैन।
सुरक्षा भनेको दुर्घटना भएपछि प्रतिक्रिया दिने विषय होइन; दुर्घटना हुन नदिने पूर्वतयारी हो।
नाइमा मोविलिटी अटो शोले नेपाली अटोमोबाइल बजारको बढ्दो सम्भावना देखाएको छ। नयाँ ब्रान्ड, नयाँ मोडल र विद्युतीय सवारीको बढ्दो उपस्थिति यसको सकारात्मक पक्ष हो।
तर अब नेपाली अटो शोको प्रतिस्पर्धा कति ब्रान्ड सहभागी भए, कति गाडी सार्वजनिक भए र कति ठूलो स्टल बन्यो भन्नेमा मात्र सीमित हुनु हुँदैन।
अन्तर्राष्ट्रिय स्तरका अटो शोले आगन्तुकलाई सम्पूर्ण अनुभव बेच्छन्।
प्रवेशदेखि पार्किङसम्म।
पार्किङदेखि प्रदर्शनीसम्म।
प्रदर्शनीदेखि टेस्ट ड्राइभसम्म।
टेस्ट ड्राइभदेखि ग्राहक सेवासम्म।
त्यसैले नाइमा पनि अब ‘Mobility Show’ लाई केवल गाडीको प्रदर्शनी होइन, पूर्ण ग्राहक अनुभवको प्लेटफर्म बनाउने दिशामा जानुपर्छ।