शेयर बजार किन यति सजिलै हल्लिन्छ?


१. बजार अझै खुद्रा लगानीकर्ताको मनोविज्ञानमा अत्यधिक निर्भर

नेपाली बजारमा खुद्रा लगानीकर्ताको सहभागिता ठूलो छ। यो बजार विस्तारका लागि सकारात्मक भए पनि यसको अर्को पाटो अस्थिरता हो।

जब संस्थागत दीर्घकालीन पूँजीको भूमिका कमजोर हुन्छ, बजारको मूल्य निर्धारणमा छोटो अवधिको मनोविज्ञान हाबी हुन्छ।

बजार बढ्दा अत्यधिक आशावाद र घट्दा अत्यधिक निराशा देखिनु त्यसैको परिणाम हो।

समस्या लगानीकर्ता धेरै हुनु होइन; दीर्घकालीन पूँजीको आधार कमजोर हुनु हो।

२. घट्दो बजारमा जोखिम व्यवस्थापनका विकल्प कमजोर

बजार माथि जाँदा सबैलाई कमाउन सजिलो हुन्छ। तर बजार घट्दा पनि लगानीकर्तासँग जोखिम व्यवस्थापन र हेजिङका पर्याप्त विकल्प हुनुपर्छ।

यही ठाउँमा नेपाल पछाडि छ।

सर्ट सेलिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङजस्ता उपकरण कार्यान्वयनमा आउन सकेका छैनन्। सेबोनले भने सर्ट सेलिङ कार्यान्वयनको तयारी अघि बढाएको छ।

तर वर्षौंदेखि छलफल हुँदै आएको विषय कार्यान्वयनको चरणमा कहिले पुग्छ?

घट्दो बजारमा पनि दुईतर्फी कारोबारको अवसर नहुँदा बजार स्वाभाविक रूपमा एकतर्फी बिक्रीको दबाबमापर्न सक्छ।

३. बजार निगरानी प्रविधि समयअनुकूल बनाउनुपर्ने

आजको बजार केवल ट्रेडिङ सिस्टममा हुने कारोबारबाट चल्दैन।

सामाजिक सञ्जाल, अनलाइन ग्रुप, डिजिटल प्लेटफर्म र तत्काल फैलिने सूचनाले बजार मूल्यमा प्रभाव पार्छ।

यस्तो अवस्थामा नियामकको निगरानी पनि वास्तविक समयको हुनुपर्छ।

अस्वाभाविक कारोबार, समूहगत मूल्य प्रभावित गर्ने प्रयास, सूचना चुहावट र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचनालाई कारोबारपछि होइन, कारोबार हुँदै गर्दा पहिचान गर्ने क्षमता चाहिन्छ।

बजार पारदर्शिता सम्बन्धी विश्लेषणहरूले पनि कमजोर सूचना प्रकटीकरण, ढिलो रिपोर्टिङ र कमजोर कार्यान्वयनलाई नेपाली बजारका चुनौतीका रूपमा औंल्याएका छन्।

४. नेप्से–सीडीएस–ब्रोकर पूर्वाधार अझै पर्याप्त आधुनिक छैन

नयाँ वित्तीय उपकरण थप्ने कुरा गरिन्छ।

तर त्यसका लागि बजार पूर्वाधार तयार छ कि छैन भन्ने प्रश्न अझ महत्वपूर्ण छ।

सर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ वा डेरिभेटिभजस्ता जटिल उपकरण सञ्चालन गर्न रियल टाइम जोखिम व्यवस्थापन, बलियो क्लियरिङ प्रणाली, मार्जिन गणना र निर्बाध ट्रेडिङ पूर्वाधार आवश्यक हुन्छ।

नेपाली बजारको प्राविधिक पूर्वाधारको क्षमता र स्थायित्वबारे प्रश्न उठ्दै आएका छन्।

त्यसैले नयाँ उपकरण घोषणा गर्नु अघि बजारको ‘ब्याकएन्ड’ बलियो बनाउनु अनिवार्य छ।

५. सुधारको सबैभन्दा ठूलो कमजोरी; कार्यान्वयनमा ढिलाइ

नेपाली पूँजी बजारमा सुधारका विषय नयाँ होइनन्।कार्यदल बन्छन्। अध्ययन हुन्छ। प्रतिवेदन आउँछ। अवधारणापत्र बन्छ। तर समस्या एउटै ठाउँमा आएर रोकिन्छ।

सेबोनले अहिले प्राथमिक बजार सुधारका लागि नयाँ कार्यदल गठन गरेको छ र प्राथमिक बजारलाई पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउने उद्देश्य अघि सारेको छ।

यो सकारात्मक हो। तर लगानीकर्ताले अब कार्यदलको नाम होइन, कामको समयसीमा खोजिरहेका छन्।