काठमाडौं। वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन, वास्तविक लागत खर्च निर्धारण तथा व्यवसायिक सम्मानको सुनिश्चिततासहित विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूले श्रम स्वीकृतिको प्रक्रिया नै बन्द गरेर आन्दोलनको घोषणा गरेका छन्।
वैदेशिक रोजगार व्यवसाय संघले पत्रकार सम्मेलन गरी ‘फ्रि भिसा, फ्रि टिकट’ नीति परिवर्तनसँगै वैदेशिक रोजगार विभागबाट भइरहेका “प्रशासनिक ज्यादती”, वैदेशिक रोजगार क्षेत्रका अन्य नीतिगत सुधार, वैज्ञानिक सेवाशुल्कको कार्यान्वयन, श्रमिकको लागत खर्च तथा दायित्वको स्पष्ट निर्धारण लगायत वैदेशिक रोजगार क्षेत्रका दीर्घकालीन समस्याको स्थायी समाधानका लागि सरकारसमक्ष प्रभावकारी रूपमा माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।
हिजो नै वैदेशिक रोजगारीमा कामदार उडाउन बन्द गरी सशक्त, तथ्यपरक र प्रभावकारी बनाउन संघले सम्पूर्ण व्यवसायीसँग वाचापत्र माग गरेको छ ।
इमेलमार्फत पठाइएको वाचापत्रबाट संकलित तथ्यांकलाई आधार बनाई संघले नेपाल सरकारसँग औपचारिक छलफल तथा वार्ता गर्ने जनाएको छ ।
२०७२ साल साउनमा सरकार र म्यानपावर व्यवसायीबीच ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिको कार्यान्वयनसम्बन्धी असहमति अन्त्य गर्न ३१ बुँदे सहमति भएको थियो । परीक्षणकालका रूपमा नि:शुल्क भिसा र टिकटको प्रावधान लागू गर्ने तथा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने उक्त सम्झौताको मुख्य उद्देश्य भए पनि ‘फ्रि भिसा, फ्रि टिकट’ नीति पुनरावलोकन नभएपछि व्यवसायी असन्तुष्ट रहँदै आएका छन् ।
ऐन संशोधन, लागत खर्चसम्बन्धी नीतिगत अन्योल तथा व्यवसायीमाथि हुने व्यवहारप्रति असन्तुष्टि बढ्दो रहेको र व्यवसायीका माग सम्बोधन नभएसम्म श्रम स्वीकृतिको प्रक्रिया स्थगित हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिक कुमार खत्रीले जानकारी दिए ।
उनका अनुसार सरकारसँग वैदेशिक रोजगार ऐन समयानुकूल संशोधन गर्न, गन्तव्य मुलुकअनुसार वास्तविक लागत खर्च निर्धारण गर्न, व्यवसायीलाई सम्मानजनक वातावरणमा काम गर्ने सुनिश्चितता दिन तथा नीतिगत निर्णयका तत्काल गर्ने व्यवसायीको माग हो ।
संघले अगाडि बढाउने दबाबका कार्यक्रम छिट्टै निष्कर्षमा नपुगेको अवस्थामा नेपालको श्रम बजार अनिश्चिततामा प्रवेश गर्न सक्ने कतिपयले आकलन गदै जानकारी गराएर आन्दोलनको घोषणा गरेको उनले बताए । ‘वैदेशिक रोजगार क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्य आवश्यक छ। मागहरूको शीघ्र सम्बोधन नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने छ ।’व्यवसायीहरूले बताएका छन् ।’
हाल दैनिक करिब २ हजार नेपाली युवायुवती वैदेशिक रोजगारीमा जाने गरेकोमा म्यानपावर कम्पनीमार्फत दैनिक एक हजार हाराहारीमा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

