सहकारी र सरकारी साझेदारीमा कैलालीमा बीउ प्रशोधन उद्योग सञ्चालन, मुख्यमन्त्री शाहद्वारा उद्घाटन


कैलाली। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीमा सहकारी र सरकारी साझेदारीमा स्थापना गरिएको बीउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा आएको छ। उद्योगको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक उद्घाटन गरेका हुन्।

लम्कीचुहा नगरपालिका–४ मा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापना गरिएको उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले किसानलाई गुणस्तरीय बीउ उत्पादनमा प्रोत्साहन र सहयोग पुर्‍याउने सहकारीको प्रयास प्रशंसनीय रहेको बताए।

उनले उत्पादनपछि बीउको प्रशोधन, गुणस्तर परीक्षण, भण्डारण तथा बजारीकरणका लागि उद्योगले स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै कृषि क्षेत्रमा सहकारीको भूमिका अझ प्रभावकारी बन्ने धारणा राखे।

सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहका अनुसार उद्योग सञ्चालनसँगै यस क्षेत्रका किसानले उन्नत जातका धान, गहुँ, मकै, तोरीलगायतका बीउको ग्रेडिङ, प्याकेजिङ र प्रशोधन स्थानीय स्तरमै गर्न सक्नेछन्।

उनले किसानलाई सहज रूपमा गुणस्तरीय बीउ उपलब्ध गराउनुका साथै उनीहरूले उत्पादन गरेको बीउ उचित मूल्यमा खरिद गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको जानकारी दिए।

१ करोड ४१ लाख रुपैयाँको लगानी

बीउ प्रशोधन उद्योग स्थापना गर्न किसान बहुउद्देश्यीय सहकारी संस्थाले लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारसँग साझेदारी गरेको छ।

उद्योगमा हालसम्म १ करोड ४१ लाख ३० हजार रुपैयाँ लगानी भइसकेको छ। भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको छ भने मेसिनरी खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको सहकारीले जनाएको छ।

१४० बिघामा मूल बीउ उत्पादन

बीउ उत्पादन र उद्योग सञ्चालनलाई प्रवर्द्धन गर्न सहकारीले ४१ जना कृषक तथा एक कृषि सहकारी संस्थालाई आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ।

सहकारीको सहकार्यमा हाल १४० बिघा क्षेत्रफलमा धानको मूल बीउ उत्पादन सुरु गरिएको छ।

उद्योग सञ्चालनमा आएपछि सुदूरपश्चिमका किसानले बीउ प्रशोधनका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था अन्त्य हुने, स्थानीय स्तरमै रोजगारी सिर्जना हुने तथा गुणस्तरीय बीउ उत्पादनमार्फत कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।