बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ


काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्‍याएको छ।

वृत्तचित्रको विशेष प्रदर्शन टुरिजम इन्फो नेपालले बुधबार काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा आयोजना गरेको हो।

प्रदर्शनमा पर्यटन, संरक्षण तथा सरकारी क्षेत्रका सय भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । बीबीसी र पीबीएसको सहकार्यमा निर्माण भएको वृत्तचित्र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती दुर्गम नदी टापु तथा सामुदायिक वन क्षेत्रमा छायांकन गरिएको हो।


वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधिलाई पछ्याउँदै बाघको व्यवहारसम्बन्धी केही असाधारण दृश्य प्रस्तुत गरिएको छ । विशेषगरी पोथी बाघहरूले मिलेर बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको संरक्षण र हेरचाहमा सक्रिय भूमिका निर्वाह गर्ने दृश्यले बाघको व्यवहारसम्बन्धी स्थापित बुझाइलाई चुनौती दिएको निर्माण टोलीको दाबी छ।

सन् २०२२ को अन्त्यतिर यो डकुमेन्ट्री सुरु भएको थियो । बीबीसीको टोलीले बर्दियामा पोथी बाघको गतिविधि पछ्याउँदै लामो समयसम्म अध्ययन तथा छायांकन गरेपछि वृत्तचित्रले नयाँ तथ्य र दृश्यहरू समेट्न सफल भएको हो।

ड्रोन, थर्मल क्यामेरा, नाइट-भिजन प्रविधि तथा विस्तृत फिल्ड ट्र्याकिङको प्रयोगबाट बाघका गतिविधि अभिलेख गरिएको थियो । वृत्तचित्रको दोस्रो भागमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृश्यसमेत समेटिएको छ।


कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीले गरेका थिए । कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीधर पोखरेलको समेत उपस्थिति थियो । कार्यक्रममा जोशीले नेपालको बाघ संरक्षणको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन वृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले वन्यजन्तु संरक्षणलाई प्रकृतिमा आधारित तथा दिगो पर्यटनसँग जोडेर नेपाललाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सकिने धारणा राखे ।

वृत्तचित्र प्रदर्शनपछि सजल प्रधानको सहजीकरणमा प्यानल छलफल गरिएको थियो । छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले वृत्तचित्र निर्माणका क्रममा बाघको खोज, अनुगमन तथा ट्र्याकिङमा आफूहरूले गरेको काम र अनुभव साझा गरे ।

छलफलमा नेपालको बाघ संरक्षण यात्राले हासिल गरेको उल्लेखनीय प्रगतिबारे पनि चर्चा भयो । सन् २०१० मा १२१ रहेको नेपालको बाघ संख्या अहिले ४०० भन्दा माथि पुगेको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले नेपाललाई विश्वमै बाघ संरक्षणको उल्लेखनीय सफलताको उदाहरणका रूपमा स्थापित गर्न सकिएको बताए ।

तर बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको सहभागीहरूको भनाइ थियो । संरक्षणका उपलब्धिलाई दीगो बनाउन संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको हित, सुरक्षा र सहभागितालाई समान प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए ।

कार्यक्रममा वन्यजन्तु संरक्षण र पर्यटनबीचको सम्बन्धबारे समेत चर्चा गरिएको थियो । बर्दियामा बाघ तथा वन्यजन्तुमा आधारित पर्यटनको सम्भावना बढ्दै गएको अवस्थामा संरक्षणको सफलता नेपालका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्ने सहभागीहरूको धारणा थियो ।

कार्यक्रमको अन्त्यमा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र आयोजना गरिएको थियो । त्यसपछि प्यानलिस्ट तथा विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।

टुरिजम इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, संरक्षण साझेदार, वृत्तचित्र निर्माण टोली, बर्दियाका स्थानीय समुदाय तथा पीबीएसलगायतका साझेदारप्रति आभार व्यक्त गरे । उनले नेपालको वन्यजन्तु संरक्षणको कथा विश्वमाझ पुर्‍याउने यस्ता प्रयासले जैविक विविधता संरक्षणप्रति थप प्रतिबद्धता सिर्जना गर्नुका साथै दिगो पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Nepal’s remarkable success in tiger conservation is gaining renewed international attention through a BBC documentary that offers an unprecedented glimpse into the secretive lives of tigers in the wild. “Tiger Island: A Hidden World Revealed” documents rare tiger behaviour in and around Bardiya National Park, while also highlighting the role of community-led conservation in protecting Nepal’s wildlife. Tourism Info Nepal, a tourism newsportal, organized a special screening of the documentary on Wednesday at Aloft Hotel in Thamel, Kathmandu, bringing together more than 100 guests from the tourism, conservation and government sectors.
The documentary, filmed on a remote river island and surrounding community forests bordering Bardiya National Park, captures never-before-seen tiger behavior, offering a rare glimpse into one of Nepal’s most inspiring conservation stories. It highlights the role of community-led conservation and the country’s growing reputation as a global model for wildlife protection.
The program was formally inaugurated by former CEO of Nepal Tourism Board, Mr. Deepak Raj Joshi in the presence of former Minister for Women, Children and Senior Citizens Shraddha Shrestha and Hon. Member of Parliament Shreedhar Pokhrel of the Rastriya Swatantra Party. Speaking at the event, Jo