कृषि, वन तथा वातावरण क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री चौधरी र ईयू राजदूतबीच छलफल


काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–युरोपेली संघ सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो।

भेटमा नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा RAISE परियोजनामार्फत कृषि प्रणाली सुदृढीकरण, कृषि उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा विशेषगरी नेपाली छुर्पी(डग च्यु) लाई युरोपेली बजारमा निर्यात गर्ने सम्भावनाबारे विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा युरोपेली बजारमा प्रवेशका लागि आवश्यक गुणस्तर तथा प्राविधिक मापदण्ड पूरा गर्न सम्बन्धित निकायहरूबीच समन्वय बढाउने सहमति भएको छ। साथै, ती मापदण्ड पूरा गर्न युरोपेली संघले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

यसका अतिरिक्त कञ्चनजंघा संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन, कृषि र खाद्य सुरक्षाको सुदृढीकरण, व्यापार प्रवर्द्धन, प्रयोगशालाको क्षमता अभिवृद्धि तथा कृषि एवं खाद्यजन्य वस्तुको प्रमाणीकरण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो।

भेटवार्ताको अन्त्यमा दुवै पक्षले कृषि, वन, वातावरण तथा दिगो विकासका क्षेत्रमा नेपाल र युरोपेली संघबीचको साझेदारीलाई अझ सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।