उपत्यकामा चाडपर्व लक्षित खाद्य बजार निरीक्षण र अनुगमन


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गर्दै खाद्य बजार निरीक्षण र अनुगमन गरेको छ।

कार्तिक १२ गते मोवाइल (फुडल्याब) भ्यानको प्रयोग गरी गरिएको अनुगमनमा मिठाई पसल, डेरी, र विभिन्न खाद्य व्यवसायमा खाद्य पदार्थको सरसफाइ, भण्डारणको अवस्था र खाद्य गुणस्तरको नमूना परीक्षण गरिएको विभागले जनाएकाे छ ।

अनुगमनकाे क्रममा गुर्जुधाराको मधुरम मिठाई पसलमा सरसफाइ सामान्य रहेको भएपनि फ्रिजमा भण्डारण व्यवस्थित नभएको अवस्थामा भेटिएकाे, साथै चन्द्रागिरीको सृष्टि स्विट एण्ड चाट हाउसमा मिठाइहरूमा मसिजन्य कागजको प्रयोग गरेको र उचित तापक्रममा भण्डारण नगरेको अवस्थामा भेटिएकाे विभागका प्रवक्ता माेहन कृष्ण महर्जनले जानकारी दिए ।

नरदेवीस्थित गौतम स्विट्सले खाद्य पदार्थमा लेबल नलगाई भण्डारण गरेको देखिएकाे विभागले जनाएकाे छ ।

यस निरीक्षणमा खाद्य पदार्थको नमूना प्रारम्भिक चेकजाँच गरी गुणस्तर ऐन २०८१ अन्तर्गत कैफियत सुधार्न निर्देशनहरू दिइएको छ।

विभागका प्रवक्ता महर्जनले विभागको यो पहल उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाका लागि निरन्तर जारी राखिने बताए।