राष्ट्रिय कोदो दिवस: कुअन्न अथवा गरिबले खाने अन्नबाट श्री अन्न (सुपरफुड) सम्मको यात्रामा कोदो, मूल्य शृङ्खला सुदृढ नगरे उत्पादन बढ्दैन


काठमाडौं । एक समय कु अन्न अथवा ‘गरिबको अन्न’ भनेर उपेक्षा गरिएको रैथाने बाली कोदो अहिले स्वास्थ्य, पोषण र बजारका दृष्टिले उच्च मूल्यको श्री अन्न (सुपरफुड)का रूपमा स्थापित हुँदै गएको छ। तर बढ्दो मागको तुलनामा उत्पादन र उत्पादकत्व भने निरन्तर घट्दै गएकाले यसको दिगो विकासका लागि उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला (Value Chain) सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ को अवसरमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा आयोजित मूल समारोहमा सहभागी सरकारी निकाय, अनुसन्धान संस्था, किसान, सहकारी तथा विकास साझेदारहरूले कोदो प्रवर्द्धनका लागि नीति, प्रविधि, बजार र मूल्य अभिवृद्धिलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन‘ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), एफ ए ओ, लिबर्ड नेपाल, राष्ट्रिय कृषक समूह महासंघ नेपाल तथा अनाजको संयुक्त सहभागिता रहेको थियो।

विद्यालयको दिवा खाजासँग जोड्न सुझाव:

कार्यक्रमका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा किसानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानका लागि तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गरिरहेको बताए।

उनले स्थानीय उत्पादनलाई सुनिश्चित बजार दिलाउने प्रभावकारी उपायका रूपमा विद्यालयको दिवा खाजा कार्यक्रममा कोदोसहितका रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गरे। यसबाट किसानले स्थायी बजार पाउने र स्थानीय अर्थतन्त्र पनि सुदृढ हुने उनको भनाइ थियो।

उत्पादन घट्दै, माग र आयात बढ्दै:

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै यसको उपभोग र बजार माग उल्लेखनीय रूपमा बढिरहेको बताए। स्वास्थ्यप्रति बढ्दो सचेतना र कोदोका पोषण गुणका कारण यसको उपभोग विस्तार भइरहेको उनले उल्लेख गरे।

यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले गाउँघरमा कोदो खेती घट्दै गए पनि सहरी क्षेत्रमा यसको माग तीव्र रूपमा बढेकाले आयातसमेत बढिरहेको जानकारी दिए।

उनका अनुसार राष्ट्रिय जीन बैंकमार्फत स्थानीय जातका कोदोको संरक्षण भइरहेको छ भने उत्पादन वृद्धि गर्न यान्त्रिकीकरण र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ।

मूल्य शृङ्खला बलियो नबनाई कोदोको भविष्य सुरक्षित हुँदैन: एफ ए ओ,

एफ ए ओ का कार्यक्रम विशेषज्ञ महेश बडालले सरकारले राष्ट्रिय कोदो दिवसलाई औपचारिक मान्यता दिनु सकारात्मक कदम भएको बताए।

उनले विगतमा ओझेलमा परेको कोदो अहिले स्वास्थ्य, पोषण र व्यापारिक दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उत्पादन, प्रशोधन, ब्रान्डिङ, बजार र उपभोक्तासम्म जोड्ने मूल्य शृङ्खला विकास नगरे कोदो प्रवर्द्धन सम्भव नहुने बताए।

उनका अनुसार नार्कले उन्नत जात विकास तथा संरक्षणमा काम गरिरहेको छ भने सहकारी र निजी क्षेत्रले पनि बजार विस्तारमा योगदान पुर्‍याइरहेका छन्।

रासायनिक मलभन्दा रैथाने बालीमा लगानी बढाऔं : महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ,

दोश्रो राष्ट्रिय कोदो दिवस मुल आयोजक समितिका सदस्य तथा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन हुँदै गएको बताए।

उनले कृषि बजेटको ठूलो हिस्सा अझै रासायनिक मलमा खर्च हुने गरेको उल्लेख गर्दै त्यसको केही अंश रैथाने बालीको अनुसन्धान, उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने धारणा राखे। किसानलाई जैविक खेती र स्थानीय उत्पादनमुखी कृषि प्रणाली अपनाउन पनि उनले आग्रह गरे।

उत्कृष्ट किसान र संस्थालाई सम्मान:

कार्यक्रममा कोदो संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बाजुराको बडीमालिका नगरपालिकाका किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो।

त्यसैगरी लमजुङको घनापोखरी सहकारी संस्थाकृषि पत्रिकाका गोपाल आले मगर तथा सुनकोशी गाउँपालिकालाई कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

दबाबपछि बन्यो राष्ट्रिय दिवस: राष्ट्रिय कृषक समूह महासंघ, 

नेपालमा २०७८ सालदेखि राष्ट्रिय कृषक समूह महासंघले साउन १५ गते कोदो दिवस मनाउँदै राष्ट्रिय दिवस घोषणा गर्न सरकारसँग माग गर्दै आएका थिए। लगातारको पहलपछि सरकारले २०८२ सालदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यससँगै कोदो दिवसले औपचारिक राष्ट्रिय मान्यता पाएकोमा किसानहरूले हर्सोलास मनाएका छन भनि राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताए।

यसअघि संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (International Year of Millets) घोषणा गरेपछि विश्वभर कोदो र अन्य मिलेट्सप्रति आकर्षण बढेको छ। नेपालमा पनि स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै कोदोका परिकारको माग बढ्दै गएको छ।

दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा काभ्रे, नुवाकोट, धादिङ लगायत देशैभरिका स्थानीय तहमा पनि विशेष कार्यक्रम आयोजना गरी कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणका विषयमा जनचेतना अभिवृद्धि गरिएको थियो।

कोदो अहिले केवल परम्परागत बाली होइन, पोषण, जलवायु अनुकूल कृषि, खाद्य सुरक्षा र किसानको आयसँग प्रत्यक्ष जोडिएको रणनीतिक बाली बन्दै गएको छ। तर उत्पादन घट्दै र आयात बढ्दै जानुले सरकारी नीति, अनुसन्धान, बीउ, यान्त्रिकीकरण, प्रशोधन उद्योग र बजार व्यवस्थापनबीच अझै प्रभावकारी समन्वय आवश्यक रहेको संकेत गर्छ। सरोकारवालाहरूका अनुसार मूल्य शृङ्खलाको प्रत्येक चरण सुदृढ गर्न सके नेपालले कोदोमा आत्मनिर्भर मात्र होइन, निर्यातमुखी बजारसमेत विकास गर्न सक्ने सम्भावना रहेको छ।