काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
मन्त्रालयमा भएको भेटमा बालअधिकार, पोषण, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा बालमैत्री विकासका विषयमा छलफल भएको छ ।
वंशाणुगत रोग सिकलसेल एनेमियामा विशेषगरी बालबालिक, युवा, महिलालाई युनिसेफले जोड दिनुपर्ने विषयमा छलफल भएको छ।
यसकासाथै बालबालिकाको पोषण सुधार, खाद्य सुरक्षा, दिगो कृषि प्रणालीको विकास तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो। युनिसेफसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने मन्त्री चौधरीले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
युनिसेफकी नेपाल प्रतिनिधि अकुङ्गाले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहयोग विस्तार गर्न युनिसेफ प्रतिबद्ध रहेको बताउनुभयो।
भेटमा दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि, वातावरण तथा बालअधिकारसँग सम्बन्धित कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको छ।