फरार रहेका शरण महर्जन पक्राउ


काठमाडौं । किर्तिपुर नगरपालिका–१० निवासी रत्नकुमार महर्जनका छोरा तथा शिक्षिका साधना महर्जनका श्रीमान शरण महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–मैतीदेवी निवासी दीपा थापाले शरण महर्जनविरुद्ध विभिन्न बहानामा पटक–पटक सापटीका रूपमा करिब २३ तोला सुन र रु. ६० लाख लिई फिर्ता नगरी सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) ले करिब एक साताअघि शरण महर्जनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरिएको व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।