इन्टर्न चिकित्सकको भत्तामा देशव्यापी एकरूपता कायम गर्न नेपाल चिकित्सक संघको माग


काठमाडौं। नेपाल चिकित्सक संघले एमबीबीएस (MBBS) तथा बीडीएस (BDS) अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राख्दै गरिरहेको आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले विज्ञप्ति जारी गर्दै अत्यधिक मानसिक तथा शारीरिक दबाबका बीच दिनरात स्वास्थ्य सेवामा खटिनुपर्ने इन्टर्न चिकित्सकलाई प्रदान गरिने स्टाइपेन्ड (भत्ता) मा देशभर एकरूपता नहुनु तथा वैज्ञानिक आधारमा भत्ता निर्धारण नगर्नु अन्यायपूर्ण भएको जनाएको छ।

विज्ञप्तिमा नेपाल सरकारले इन्टर्न चिकित्सकको भत्तामा एकरूपता कायम गर्ने उद्देश्यले कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गरिसकेको भए पनि हालसम्म औपचारिक निर्णय र कार्यान्वयन हुन नसकेकोप्रति दुःख व्यक्त गरिएको छ।

नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरूले उठाएका जायज मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै देशभरका सबै मेडिकल शिक्षण संस्थामा इन्टर्न चिकित्सकको स्टाइपेन्डमा समानता कायम गर्न माग गरेको छ।

संघले यस सम्बन्धमा गठित कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न तथा इन्टर्न चिकित्सकलाई न्यायोचित सुविधा उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार आग्रह गरेको छ।

नेपालभरका इन्टर्न चिकित्सकहरूले लामो समयदेखि भत्तामा रहेको असमानता हटाई न्यूनतम समान स्टाइपेन्डको व्यवस्था गर्नुपर्ने, कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्। नेपाल चिकित्सक संघले उनीहरूको मागलाई जायज ठहर गर्दै शीघ्र समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गरेको छ।