चितवनमा धान रोपाइँको चटारो, १५ दिनमै झन्डै एक हजार मेट्रिक टन रासायनिक मल वितरण


चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्‍याएको जनाएको छ।

शाखा प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो दुई सातामा ६६८.२०० मेट्रिक टन युरिया, २०१.८०० मेट्रिक टन डिएपी र ९९.१७५ मेट्रिक टन पोटास वितरण गरिएको हो। धान रोपाइँको चाप बढेसँगै मलको माग पनि उल्लेख्य रूपमा बढेको उनले बताए।

हाल जिल्लाका २७८ वटा सूचीकृत सहकारीमार्फत पूर्ण रूपमा अनलाइन प्रणालीबाट मल वितरण भइरहेको छ। प्रमुख बगालेका अनुसार यस व्यवस्थाले वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाएको छ।

“अब कुन सहकारीले कति मल बिक्री गर्‍यो, कति मौज्दात बाँकी छ भन्ने विवरण प्रणालीमै देखिन्छ। यसले अनियमितताको सम्भावना न्यून बनाएको छ र सहकारीले दैनिक विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ,” उनले भने।

भरतपुरमा सबैभन्दा बढी माग

कार्यालयको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा बढी मल वितरण भएको छ। यहाँ २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास किसानले प्राप्त गरेका छन्।

त्यसैगरी:

  • माडी नगरपालिका : ११५.००० मेट्रिक टन युरिया, ९.५०० मेट्रिक टन पोटास
  • खैरहनी नगरपालिका : ९०.१०० मेट्रिक टन युरिया, १९.१०० मेट्रिक टन पोटास
  • रत्ननगर नगरपालिका : ७३.९५० मेट्रिक टन युरिया, २४.१०० मेट्रिक टन पोटास
  • राप्ती नगरपालिका : ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी, १०.२५० मेट्रिक टन पोटास
  • कालिका नगरपालिका : ४९.००० मेट्रिक टन युरिया, १४.००० मेट्रिक टन पोटास
  • इच्छाकामना गाउँपालिका : २८.५०० मेट्रिक टन युरिया वितरण गरिएको छ।

यसका अतिरिक्त आपत्कालीन आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया४.०५० मेट्रिक टन डिएपी समेत वितरण गरिएको कम्पनीले जनाएको छ।

सिजनभर ३ हजार मेट्रिक टनसम्म माग हुने अनुमान

कृषि सामग्री कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवनमा २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान छ। सोहीअनुसार मौज्दात व्यवस्थापन गरी किसानलाई अभाव हुन नदिने तयारी गरिएको कम्पनीले जनाएको छ।

“भरतपुर महानगरपालिकालाई शहरी केन्द्रका रूपमा चिनिए पनि महानगरका अधिकांश बाहिरी वडाहरू कृषि उत्पादनका प्रमुख क्षेत्र हुन्। धान, तरकारी, मकै, केरालगायतका व्यावसायिक खेती व्यापक रूपमा हुने, किसानको संख्या बढी रहने तथा मल वितरण गर्ने सहकारीहरूको घनत्व उच्च भएकाले जिल्लामै सबैभन्दा धेरै रासायनिक मल भरतपुरमा वितरण भएको कृषि सामग्री कम्पनीको विश्लेषण छ।”

पछिल्ला वर्षहरूमा मल अभावका कारण किसानले सास्ती खेप्नुपरेको भए पनि यस वर्ष अनलाइन वितरण प्रणाली, सहकारीमार्फत बिक्री र मौज्दात व्यवस्थापनलाई प्राथमिकता दिएकाले वितरण प्रक्रिया तुलनात्मक रूपमा सहज र व्यवस्थित बनेको सम्बन्धित अधिकारीहरूको दाबी छ।