मुक्तिनाथ विकास बैंकद्वारा लुम्बिनी प्रदेश रेडक्रसलाई तीन जैविक सूक्ष्मदर्शी हस्तान्तरण


काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी (Biological Microscope) हस्तान्तरण गरेको छ।

बैंकले असार ३१ गते हस्तान्तरण गरेका यी उपकरणहरू नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशद्वारा सञ्चालन भइरहेको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको जनाएको छ।

बैंकका अनुसार उक्त सूक्ष्मदर्शीले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिन सक्ने असामान्य अवस्थाको पहिचान गर्न सहयोग पुर्‍याउनेछ। साथै रगतको उपयुक्तता परीक्षण, रगत सङ्कलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन पनि उपकरण उपयोगी हुने विश्वास गरिएको छ।

मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवा सुदृढीकरणका साथै जनस्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

बैंकले स्वास्थ्य, शिक्षा, वित्तीय पहुँच सामाजिक विकाससँग सम्बन्धित कार्यक्रममार्फत संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ। यस किसिमको सहकार्यले स्वास्थ्य संस्थाहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।