प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन


प्रेस काउन्सिल अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई काउन्सिल अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि पत्रकारिता गर्दैआएका श्रेष्ठले पत्रकारिता र आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका छन् । उनी मिथ्या सूचनाहरुको तथ्यजाँच र प्रशिक्षकको रुपमा दख्खल राख्छन् । उनी पछिल्लो समय नेपाल फ्याक्टचेकका सम्पादक रुपमा कार्यरत थिए । माइसंसार डटकम उनको पुरानो अनलाइनमध्ये एक हो ।

सिएमआर नेपाल जर्नालिजम एकेडेमीमा प्रमुख प्रशिक्षकको रुपमा कार्यरत उनी मिडिया नीतिका पनि जानकार मानिन्छन् । साथै, उनले नेपालका धेरै पत्रकारलाई डिजिटल अनुसन्धान, डेटा जर्नालिज्म र एआईबारे प्रशिक्षण दिइसकेका छन् ।

काउन्सिलमा यसअघि वरिष्ठ अधिक्ता कुमार शर्मा आचार्य अध्यक्ष रहेकामा सरकारको नयाँ अध्यादेश जारीसँगै उनीसहित सबै पदाधिकारी पदमुक्त भएका थिए ।

प्रेस काउन्सिलले सरकार र संचारमाध्यमबीच समन्वयको काम गर्दै आएको छ । यसले संचारमाध्यम नियमन, वर्गीकरण एवं पत्रकार आचारसंहिता कार्यान्वयनमा पहरेदारी गर्दैआएको छ ।