काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आज असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
दुई फाइनान्सहरू बीच मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भएसँगै अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट संयुक्त व्यावसायिक कारोबार सुरु भएको हो ।
दुई कम्पनीको मर्जर पश्चात् एकीकृत कारोबार सुरु भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २५ गते बिहीबार एक सूचना जारी गर्दै आज (असार २६ गते) देखि लागू हुने गरी दुवै संस्थाको सेयर कारोबार स्थगन गरिएको जनाएको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम सेयर कारोबार रोक्का राख्ने निर्णय भएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ।
मर्जर पश्चात् स्वाप रेसियो मिलान, सेयर मिलान तथा धितोपत्र बजारमा ‘पोखरा फाइनान्स’ को नाममा नयाँ सेयर सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र दोस्रो बजारमा सेयर कारोबार फुकुवा हुनेछ ।