
ईकोनोमिक खबर, काठमाडौं।
‘अब हामी शेयर किन्न र बैंकबाट ऋण लिन पनि नपाउने ? हामीले के अपराध गर्यौं, नागरिक लगानी कोषका कर्मचारीहरुले बताए।
कोषका कर्मचारीहरुसँग छलफल समेत नगरी निर्देशिका जारी गरेपछि अध्यक्षको कार्यकक्षमा सांकेतिक तालाबन्दी गरेका हुन् । उनीहरुले त्यस्तो निर्देशिका खारेज गर्न ३ दिने अल्टिमेटम दिँदै नभए कार्यकारी निर्देशककै कार्यकक्षमा तालाबन्दी गरी काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
नागरिक लगानी कोषले ल्याएको नयाँ कर्मचारी निर्देशिकामा कोषमा कार्यरत कर्मचारीको वित्तीय कारोबारको हक समेत कुण्ठित गर्ने भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । त्यसरी नियमावली ल्याउँदा आधिकारिक ट्रेड युनियनसँग समेत समन्वय नगरेकोमा उनीहरुले विरोध गरेका हुन् ।
नागरिक लगानी कोषले ल्याएको नयाँ निर्देशिकामा कोषमा काम गर्ने कर्मचारीलाई शेयर कारोबार गर्न रोक लगाइएको छ । त्यस्तै, नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग कर्मचारीले ऋण कारोबार गर्न समेत नपाउने व्यवस्था समेत गरिएको छ, यसो गर्दा नागरिक लगानी कोषमा काम गर्ने कर्मचारीले कोषमा रहुञ्जेल भैपरी आउने काम टार्न बैंकबाट ऋण लिन समेत नपाउने ब्यवस्था गरेको आन्दोलनकारी कर्मचारीले बताए ।