सिन्धु विकास बैंकद्वारा विद्यालयमा शैक्षिक सामग्री सहयोग र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Economic Khabar
२४ असार २०८३, बुधबार ००:४४
चितवन। सिन्धु विकास बैंक लिमिटेडको चनौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चितवनको गुञ्जनगर माध्यमिक विद्यालयमा शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका विद्यार्थीहरूको अध्ययन, खेलकुद तथा स्वच्छ वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा डस्टबिनलगायत सरसफाइका सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो।
कार्यक्रमका अवसरमा विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई बचतको महत्व, औपचारिक बैंकिङ प्रणाली, डिजिटल बैंकिङ सेवा तथा व्यक्तिगत वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकका प्रतिनिधिहरूले वित्तीय साक्षरताले विद्यार्थीहरूमा सानैदेखि बचत गर्ने बानीको विकास गर्नुका साथै डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगबारे चेतना बढाउने विश्वास व्यक्त गरेका थिए।
बैंकले शिक्षा, स्वच्छता र वित्तीय चेतनालाई जोड्दै सञ्चालन गरेको यस कार्यक्रमले विद्यालय समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई पनि पुनः पुष्टि गरेको जनाएको छ।
सिन्धु विकास बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वित्तीय समावेशीकरण तथा सामुदायिक विकाससँग सम्बन्धित यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।