काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजले ‘सुनुवार राष्ट्रसेवक स्मारिका–२०८३’ को दोस्रो अंक विमोचन गरेको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्मारिकासँगै समाजका कोषाध्यक्ष तथा कवि तारादेवी सुनुवारद्वारा लिखित ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा पनि गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ काम गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताए । उनले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उँचो बनाउन उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे।
समाजका अध्यक्ष अमरदीप सुनुवारले राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्मारिकाको दोस्रो अंकले समुदायको इतिहास, अनुभव, योगदान र सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य पूरा गरेको बताए ।
त्यसै अवसरमा कवि तारादेवी सुनुवारको ‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा सम्पन्न भएको थियो। आफ्नो कृतिबारे बोल्दै उनले ‘जिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको संग्रह भएको बताइन् ।
परिचर्चामा उपप्राध्यापक डा. अशोक थापा र उपप्राध्यापक कुमारी लामाले कृतिमाथि समालोचनात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा टिप्पणी गर्दै समाजका अध्यक्ष तथा कवि अमरदीप सुनुवारले ‘जिर्मा’ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताए।
उनका अनुसार संग्रहले पुरुषसत्तात्मक समाजमा रहेका सामाजिक तथा सांस्कृतिक विकृति, विसंगति र विभेदविरुद्ध सशक्त आवाज उठाएको छ। यस्ता साहित्यिक कृतिले समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षणसँगै सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमका क्रममा ३२ वर्ष राष्ट्रसेवामा योगदान पुर्याएर अवकाश प्राप्त गरेका समाजका संस्थापक सदस्य मोहनबहादुर सुनुवारलाई सम्मान पनि गरिएको थियो।
समारोहमा समाजका प्रमुख सल्लाहकार राजेन्द्रप्रसाद सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका पूर्वअध्यक्ष, होलिस्टिक हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक एलबी मुखिया, सिंगापुर प्रहरी सेवाबाट अवकाश प्राप्त टिकाराम सुनुवारलगायत राष्ट्रसेवक कर्मचारी, साहित्यकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।