काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोहको भव्य शुभारम्भ गरेको छ। पाँच दशकको संस्थागत यात्रालाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित समारोह राजधानी काठमाडौंमा विविध कार्यक्रमबीच सम्पन्न भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्य तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा अटोमोबाइल व्यवसायी, उद्योगी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सन् १९७५ मा स्वर्गीय टोलाराम दुगडले स्थापना गरेको नाडाले पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रको नीति निर्माण, व्यवसाय प्रवर्द्धन, सरकारसँगको समन्वय तथा उपभोक्ता हितका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
स्वर्ण जयन्तीलाई विशेष बनाउने उद्देश्यले त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि दरबारमार्गस्थित होटल याक एन्ड यतिसम्म विशेष वाकाथन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नाडाका सदस्य कम्पनी, पूर्वपदाधिकारी, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको उत्साहजनक सहभागिता रहेको थियो।
यस अवसरमा नाडाले संस्थाको विकास र विस्तारमा योगदान पुर्याएका पूर्वअध्यक्षहरूलाई विशेष सम्मान पनि गरेको छ। स्वर्ण जयन्ती सप्ताहअन्तर्गत असार १३ देखि १९ गतेसम्म काठमाडौंसहित सातै प्रदेशमा विभिन्न सामाजिक, व्यावसायिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
पाँच दशकको यात्रामा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्। संस्थाले नियमित रूपमा नाडा अटोमोबाइल ट्रेड डाइरेक्टरी, नाडा अटो न्यूज तथा नाडा अटो ड्राइभ क्यालेन्डर प्रकाशन गर्दै अटोमोबाइल क्षेत्रका सूचना र तथ्याङ्कलाई व्यवस्थित गर्दै आएको छ।
यही भदौ महिनामा नाडाले १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। उक्त प्रदर्शनीलाई नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो व्यावसायिक मञ्चका रूपमा लिइन्छ।
नाडाले नेपाल उद्योग वाणिज्य महासंघबाट उत्कृष्ट वस्तुगत संघको सम्मान पटक–पटक प्राप्त गरिसकेको छ। साथै सन् २०१५ देखि ISO 9001:2015 Quality Management System प्रमाणित संस्थाका रूपमा कार्य गर्दै आएको छ। व्यवसायिक गतिविधिसँगै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, राहत वितरण तथा जनहितका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
स्वर्ण जयन्ती समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंहानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु