काठमाडौँ, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी वातावरण संरक्षण, जलवायु परिवर्तन र दिगो विकासका विषयमा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न आइतबार थाइल्याण्ड प्रस्थान गरेकी छन्।
मन्त्री चौधरीले जुन २९ देखि जुलाई ३ सम्म बैंककमा आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। पहिलो
चरणमा उनी जुन २९–३० मा हुने “High-Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development” मा सहभागी हुनेछिन्।
उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) बीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा विश्वका मन्त्री तथा नीति–निर्माताबीच उच्चस्तरीय छलफल हुनेछ।
त्यसपछि जुलाई १–३ सम्म सञ्चालन हुने “Ninth Session of the Committee on Environment and Development at the Ministerial Level” मा पनि मन्त्री चौधरीले नेपालको प्रतिनिधित्व गर्नेछिन्। सम्मेलनमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा दिगो विकासका साझा चुनौती र समाधानबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।
मन्त्री चौधरीले सम्मेलनमा नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका गम्भीर असर, पर्वतीय राष्ट्रहरूले सामना गरिरहेका चुनौती, वातावरण संरक्षणका लागि नेपालले अघि बढाएका पहल तथा दिगो विकासप्रतिको नेपालको प्रतिबद्धताबारे धारणा प्रस्तुत गर्नेछिन्।
सरकारका अनुसार यी सम्मेलनहरूमा नेपालको सक्रिय सहभागिताले जलवायु न्याय, हिमाली राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन तथा वातावरणीय सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।