काठमाडौं । नेपाल आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुर्‍यालले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक संकटको चरणमा प्रवेश गरेको बताएका छन्। संघद्वारा आयोजित ‘आर्थिक वर्ष २०८३/८४ को बजेट समीक्षा तथा दिगो विकास अवधारणाबाट अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले बाह्य क्षेत्रका सूचकहरू सन्तोषजनक देखिए पनि आन्तरिक उत्पादन, लगानी र आर्थिक गतिविधि सुस्त हुँदा अर्थतन्त्रमा गम्भीर असन्तुलन देखिएको विश्लेषण प्रस्तुत गरेका थिए।

उनका अनुसार विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र तुलनात्मक रूपमा बलियो देखिए पनि त्यसको प्रभाव आन्तरिक उत्पादन र पुँजी परिचालनमा पर्न सकेको छैन। आर्थिक गतिविधि विस्तार हुन नसक्दा उपलब्ध पुँजी प्रभावकारी रूपमा परिचालन हुन नसकेको उनले बताए।