काठमाडौं। नक्कली औषधि प्रकरणमा अनुसन्धान पूरा नहुँदै व्यवसायीहरूको नाम सार्वजनिक गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा SEROFLO ROTACAPS 250 (Batch No. 5SA2150 र 5SA0759) सम्बन्धी नक्कली औषधि बरामद भएको विषयमा विभागले सार्वजनिक गरेको सूचनाले वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका औषधि व्यवसायीको प्रतिष्ठामाथि आघात पुगेको जनाएको हो।
संघका अनुसार नक्कली औषधिको उत्पादन, आयात, वितरण वा बिक्रीमा संलग्न व्यक्ति वा संस्थामाथि कडा कानुनी कारबाही हुनुपर्छ। तर अनुसन्धानबाट दोष प्रमाणित नहुँदै आधिकारिक आपूर्ति प्रणालीमार्फत औषधि खरिद गरेका व्यवसायीहरूको नाम सार्वजनिक गर्नु प्राकृतिक न्यायको सिद्धान्त र संविधानले सुनिश्चित गरेको निर्दोष मानिने अधिकारविपरीत भएको दाबी गरिएको छ।
विज्ञप्तिमा सम्बन्धित औषधि हालसम्म अन्तिम रूपमा नक्कली भएको पुष्टि भइनसकेको र अनुसन्धान प्रक्रिया जारी रहेको उल्लेख गर्दै, दोषी नै ठहर नगरी व्यवसायीलाई सार्वजनिक रूपमा जोड्नु न्यायोचित नहुने बताइएको छ।
संघले औषधि व्यवसायीहरूले बजारमा आउने हरेक औषधिको प्रयोगशाला परीक्षण गरेर मात्र बिक्री गर्न व्यावहारिक रूपमा सम्भव नहुने उल्लेख गरेको छ। व्यवसायीहरूले राज्यको नियामक प्रणाली, दर्ता प्रक्रिया, आयात अनुमति तथा आधिकारिक आपूर्ति शृंखलामाथि विश्वास गरेर कारोबार गर्ने भएकाले त्यसको जिम्मेवारी नियामक निकायले पनि वहन गर्नुपर्ने संघको तर्क छ।
संघले अनुसन्धानको निष्कर्ष आउनुअघि नै व्यवसायीहरूको नाम सार्वजनिक गर्ने अभ्यासले उनीहरूको व्यवसायिक प्रतिष्ठा, ग्राहकको विश्वास, लगानी तथा बजारमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिएको छ। निर्दोष प्रमाणित भए पनि त्यसबाट भएको क्षतिको क्षतिपूर्ति सम्भव नहुने भएकाले विभागलाई जिम्मेवार र कानुनी प्रक्रियाअनुसार मात्रै सूचना सार्वजनिक गर्न संघले आग्रह गरेको छ।
संघको प्रेेस विज्ञप्ति:

